काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कोटिहवामा रहेको पाँचतारे होटल टाइगर प्यालेसको ऋण २ अर्ब ४९ करोड रुपैयाँ छ। राजधानी बाहिर क्यासिनेसहितको पाँचतारे होटल सञ्चालन गरिरहेको टाइगर वान प्रालिले २ अर्ब ४९ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
टाइगर वानले दीर्घकालका लागि २ अर्ब २१ करोड र अल्पकालका लागि २८ करोड रुपैयाँ ऋण लिएको छ।टाइगर प्यालेसमा प्राइम बैंकको २ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी छ। यस्तै विदेशी लगानीकर्ताको २ अर्ब ५० करोड लगानी गरेका थिए। होटलमा कूल ५ अर्ब रुपैयाँ लगानी छ।
होटल नेपाल–भारत सीमाको सुनौली नाकाबाट १० किलोमिटर उत्तरमा रहेको छ । १७ बिघा जमिनमा फैलिएको टाइगर प्यालेसको क्यासिनोसहित १ सय २ वटा कोठा छन्। एसएचएल म्यानेजमेन्ट सर्भिसले क्यासिनो सञ्चालन गर्दै आएको छ। एसएचएल टाइगर वानको सहायक कम्पनीको हो।
२०७४ सालबाट सञ्चालनमा रहेको सो रिसोर्ट हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले होटल सञ्चालनमा ल्याएको हो। सिल्भर हेरिटेज हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुप नेपालको सहायक कम्पनी हो।
होटल सन् २०१८ देखि सञ्चालनमा आएको हो। सञ्चालनमा आएको एक वर्षपछि होटल कोरोना महामारीको चपेटमा पर्न गयो।
२०२२ मा होटलले ७ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको छ। यस्तै २०२१ मा १ करोड ६३ लाख रुपैयाँको व्यापार गरेको थियो। २०१९ मा होटलले ७४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। २०२० मा ५९ करोड २५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सन् २०१८ मा ३६ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो।
रणनीतिक स्थान भैरहवालाई लुम्बिनीको प्रवेशद्वार मानिन्छ। जुन प्रमुख बौद्ध तीर्थस्थलहरू मध्ये एक हो। लुम्बिनीमा हरेक वर्ष नेपाल र भारतलगायत अन्य देशबाट पनि राम्रो संख्यामा पर्यटक आउने गर्दछन्। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा स्थिरता आएपछि होटलको व्यापार बढ्ने अपेक्षा गर्न सकिन्छ।
एकीकृत क्यासिनोले भारत (विशेष गरी जनसंख्या धेरै भएका उत्तर भारतीय राज्यहरू) बाट ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
उत्तर प्रदेश र बिहार जहाँ गेमिङ नियमहरू अपेक्षाकृत कडा छन्। यसले भविष्यको मागलाई समर्थन गर्ने सम्भावना छ।
रिसोर्ट निर्माणसँगै विवादमा समेत रहँदै आएको थियो। विवादकै कारण लामो समयदेखि हेरिटेज ग्रुप रिसोर्ट बेचेर नेपालबाट बाहिरिन खोजेको थियो। तर, पटक–पटक भएको डिल भंग हुँदै आएको छ। टाइगर प्यालेस किन्न चौधरी समूहदेखि आइएमई, विशाल ग्रुप र व्यवसायी बालकृष्ण भुसाल पनि टाइगर प्यालेस किन्न खोजेका थिए। तर, सफल भएन्।