काठमाडौं। ‘बुबा म बिजनेस गर्छु,’ सुशील विश्वकर्माले एकदिन आफ्ना बुबालाई भने।
भर्खरै सिभिल इन्जिनियरिङको परीक्षा सकेको छोराले व्यवसाय गर्छुभन्दा कसका बाबु–आमालाई अचम्म नलागोस र!
‘किन गर्नुपर्यो व्यापार, आफुले जे पढेको त्यो गरे हुँदैन?,’ सुशीलका बुबाले प्रश्न गरे।
‘म पढाइमा औसत (एभरेज) हो। इन्जिनियरिङ फिल्डमा गए भने एभरेज इन्जिनियर मात्र बन्छु। यो कामले मलाई आत्मसन्तुष्टी दिँदैन। तर, व्यापारमा गए भने पैसा कमाए पनि, नकमाए पनि सन्तुष्ट हुन्छु,’ उनले बुवालाई भने।
‘व्यापारै गर्ने भए झापामा चलिरहेको आफ्नै गरगहना पसल चला न त! लगानी गरिदिएकै छ, ‘गुड विल’ छँदै छ,’ बुबाले उनलाई भने।
सुशीललाई भने पुर्ख्यौली पेसा गर्न मन थिएन। उनको सोच अर्कै थियो।
‘होइन बुबा, म फेसन ब्रान्डमा काम गर्न चाहन्छु। बरु लगानी थोरै भए पनि हुन्छ। सुरुमा अनलाइनबाट गर्छु, सटर पनि राख्नु पर्दैन,’ उनले भनेका थिए।
छोरोको रहर र लगानी पनि धेरै गर्न नपर्ने भएपछि उनका बुबा राजी भए र ३० हजार रुपैयाँ हातमा थमाइदिए। सुशील आफूले केही रकम जोडजाम पनि गरेका थिए। त्यो पैसाले उनले आफैं उत्पादन गरेको जुत्तालाई प्रिमियम ब्रान्ड बनाउन सोचिसकेका थिए।
आफ्नो ब्रान्ड त बनाउने तर नाम के राख्ने भन्ने कुराले भन्ने उनलाई सोच्न बाध्य बनायो। आफ्नो ब्रान्डको नाम केही फरक राख्न चाहन्थे सुशील।
उनी सोच्न थाले। सोच्दै जाँदा दिमागमा अचानक ‘योलो’ भन्ने शब्द आयो। त्यसपछि यो नाम गुगलमा सर्च गरे। ‘यसको अर्थ ‘यू ओन्ली लिभ्स वान्स’ रहेछ। ‘यो नामको अर्थ मलाई खुब मनपर्यो, त्यसैले मैले यही नाम फाइनल गरेँ,’ उनले भने।
२०१९ मार्चबाट उनको काम सुरु भयो– ‘योलो–लक्जरी नेपाली ब्रान्ड’
हाल योलोले विभिन्न मोडलका जुत्ता, ब्याग, पर्सलगायतका सामान उत्पादन गर्छ। सुरुवाती दिनमा अमेजनबाट जुत्ता अर्डर गरेर नेपालमा अनलाइनमार्फत बेचेको योलो ब्रान्डको हाल नयाँ बानेश्वरमा आफ्नै आउटलेट छ। उनले प्रत्यक्ष रूपमा ५ जनालाई रोजगारी दिइरहेका छन्, भने आउटसोर्सिङमार्फत पनि केहीले रोजगारी पाइरहेका छन्।
अनलाइनबाट मात्र सुरु भएको उनको व्यापार हाल आउटलेट र अनलाइनबाट बराबरी हुन्छ। ३० हजारबाट सुरु भएको योलोमा लगानी २० लाख रुपैयाँ पुगिसकेको छ। त्यसैगरी कम्पनीले वार्षिक ३५ लाख रुपैयाँसम्मको व्यापार गरेको छ।
आगामी ३ वर्षभित्र नेपालको मुख्य सहर चितवन, पोखरा, धरान, इटहरी र विराटनगरमा आउटलेट सञ्चालनमा ल्याउने सुशीलको योजना छ। अहिले सफलताको एउटा सिँढी चढिसकेका छन् उनी।
इन्जिनियरिङ पढेको र पुख्र्यौली पेसालाई लत्याएर फेसन ब्रान्डमा हामफल्न उनलाई त्यति सजिलो भने थिएन।
काँकडभिट्टाको पब्लिक इंग्लिस बोर्डिङ हाइस्कुलबाट एसएलसी र काठमाडौंको गोल्डेनगेट कलेजबाट प्लसटु सकेका सुशीलले यूनिर्भसल इन्जिनियरिङ एन्ड साइन्स कलेजबाट सिभिल इन्जिनियरिङ सकेका हुन्।
इन्जिनियरिङ गर्दै गर्दा उनका साथीहरू पढाइअनुसार काम गर्न थाले। तर, उनी भने व्यापारतिर नै लागे। उनी न्यूरोड डुल्थे केही कपडा किन्थे, अनलाइनमा राख्थे, (फेसबुक, इन्स्टाग्राम) र बेच्थे। कतिपय बेलामा त पसलमा गएर फोटो मात्र खिचेर अनलाइनमा राख्थे र अर्डर आएपछि त्यही सामान किनेर डेलिभरी गरेर नाफा लिन्थे।
योलो ब्रान्ड सुरु गर्दा पनि उनी आफंै डेलिभरी गर्न हिँड्थे।
‘आफैं डेलिभरीमा हिँड्दा मैले धेरै कुरा सिक्न पाएँ। योलोको सुरुवाती दिनमा त्रिपुरेश्वरको एउटा अर्डर थियो,’ उनले क्यापिटल नेपालसँग भने, ‘एकजना ग्राहकले मलाई सानै देखेर होला धेरै बेर कुरा गर्नुभयो र व्यापार गर्ने कतिपय आइडिया पनि सिकाउनुभयो।’
गुणस्तरका लागि विदेशमा सामान बनाउन अर्डर दिँदा कतिपय अवस्थामा उनले समस्या पनि भोगेका छन्। ‘विदेशबाट सामान ल्याउँदा पहिलो त सिपिङ कस्ट पनि महंगा, धेरै समय लाग्ने र कहिलेकाहीँ त फिनिसिङमा पनि समस्या पाएँ। त्यसलाई फिर्ता गर्न फेरि महाभारत। त्यसकारण मैले योलो ब्रान्ड नेपालमै बनाउने निणर्य गरेँ,’ उनले भने।
सुशीलले नेपालमै छालाका जुत्ता, ज्याकेट, ब्याग बनाउने काम गरिरहेकाहरूलाई डिजाइनसँगै अर्डर दिन थाले। ‘नेपालमा सीप भएका मान्छेको कमी छैन,’ उनले भने, ‘मैले डिजाइनरलाई डिजाइन बनाउन लगाउने र त्यो डिजाइनअनुसार कालिगढलाई सामान बनाउन दिन थालेँ।’
यसले सुशीलालाई लागत र समयको बचत हुनुका साथै धेरै मोडलका सामान उत्पादनमा सहयोग गर्यो। अहिले पुरुषका लागिमात्र सामान बनाइरहेका सुशील महिलाका सामान पनि बनाउने तयारीमा छन्।
त्यसैगरी यो ब्रान्डलाई नेपालमा मात्र नभई विदेशमा पनि नेपाली प्रिमियम ब्रान्डको रूपमा चिनाउने सुशीलको सपना छ। ‘अहिले हामी विदेशको सामान लगाउँदा गर्व गर्छौं,’ उनले भने, ‘नेपाली सामान लगाउँदा गर्व होस् भन्ने मेरो चाहना हो, त्यसैले यो फिल्डमा आएको हुँ।’