काठमाडौं। मर्जमा नजाने बैंकहरू हकप्रद सेयर निष्कासन गर्न पाउने आशमा छन्। मर्जबाट पुँजीवृद्धि भए पनि अन्त धेरै असर पर्न थालेपछि बैंकहरू मर्जमा नजाने र नेपाल राष्ट्र बैंकसँग हकप्रद सेयर निष्कासनका लागि लबिङ गर्ने पक्षमा देखिएका हुन्।
‘मर्जमा के कस्ता समस्या देखिएका छन्, राष्ट्र बैंकले राम्रोसँग बुझिसकेको छ,’ एक बैंकरले क्यापिटल नेपालसँग भने, ‘राम्रो बैंक पनि विस्तारै खराब बन्ने, कर्मचारीबीच समस्या उत्पन्न हुने, दुई बैंकबीचका कर्मचारी एक आपसमा सहकार्य नहुनेजस्ता समस्या उत्पन्न भइसकेका छन्।’
अहिलेसम्म जे जति बैंकहरू मर्ज भएका छन्, ती सबै बैंकमा केही न केही समस्या उत्पन्न भइसकेको छ। बैंकभित्र झन बेथिती बढेकाले केन्द्रीय बैंकले अब मर्जमा दबाब नदिने बरु हकप्रदमार्फत बैंकलाई पुँजी थप्न बाटो खोलिदिने सम्भावना बढेको छ।
बैंकरका अनुसार वाणिज्य बैंकमा प्राथमिक पुँजी अनुपात राष्ट्र बैंकले तोकेभन्दा कम हुन थालेपछि उनीहरू पुँजी वृद्धिको लागि हकप्रद वा प्राथमिक पुँजीमा गणना गर्न पाउने गरी ऋणपत्रको माग गर्न थालेका छन्।
‘तत्काल हकप्रद ल्याउन अनुमति नदेला तर एकाध वर्षभित्र नदिई सुखै छैन,’ ति बैंकरले भने। राष्ट्र बैंकका अनुसार गत चैतमा वाणिज्य बैंकहरूको औसत प्राथमिक पुँजीकोष अनुपात १०.१६ प्रतिशत छ। २०७९ असारमा यस्तो अनुपात १०.७३ प्रतिशत थियो।
बैंकहरूले प्राथमिक पुँजीकोष अनुपात न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्छ। पुँजीकोष अनुपात तोकिएभन्दा कम भए राष्ट्र बैंकले त्यस्ता बैंकलाई लाभांश वितरण गर्न दिँदैन। कर्जा प्रवाह गर्दा प्राथमिक पूँजीकोष अनुपातमा दबाब बढ्ने भएकाले तरलता सहज भए पनि बैंकहरूले व्यवसाय विस्तार गर्न सकेका छैनन्।
२०७९ चैतमा ११ बैंकको प्राथमिक पुँजीकोष अनुपात एकल अंकमा छ। यसमध्ये सबैभन्दा कम प्रभु बैंकको ८.६१ प्रतिशत छ। यस्तै सिद्धार्थ बैंक, एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकको पनि पुँजीकोष अनुपात ९ प्रतिशतभन्दा कम छ।
पुँजीकोषमा दबाब रहेका लक्ष्मी बैंक र सनराइज बैंकले मर्जरका लागि सम्झौता गरी प्रक्रिया अघि बढाइसकेका छन्। पुँजीकोषका कारण केही बैंकलाई दबाब परेकाले नेपाल बैंकर्स संघमार्फत हकप्रद वा ऋणपत्रको विकल्पका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको अध्यक्ष सुनील केसीले बताएका छन्।
राष्ट्र बैंकले गतवर्ष बैंकहरूको बढी लगानी रहेका क्षेत्र व्यक्तिगत ओभरड्राफ्ट र सवारीसाधन खरीद कर्जाका साथै रियल इस्टेट र सेयर धितो कर्जाको जोखिम भार १ सय ५० प्रतिशतसम्म र ट्रस्ट रसिद (टीआर) कर्जाको भने जोखिम भार १ सय २० प्रतिशत पुर्याएको छ। यसका कारण पनि बैंकको कर्जामा जोखिम बढ्न गई पुँजी पर्याप्तता अनुपात साँघुरो हुँदै गएको छ।
बैंकलाई प्रतिस्पर्धी बनाउन र व्यवसाय थप विस्तार गर्न केन्द्रीय बैंकले जुनसुकै समयमा हकप्रद दिनुपर्ने बैंकरहरू बताउँछन्। केन्द्रीय बैंकले सकेसम्म मर्ज गराउँछ र मर्जमा नजानेलाई हकप्रदको असवर प्राप्त हुने बैंकरहरूको अनुमान छ।