काठमाडौं। निजी ऊर्जा उत्पादकहरुको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षका लागि व्यवसायी किरण मल्ल र गणेश कार्कीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष र महासचिवमा २ २ जनासहित ३८ जनाको उम्मेदवारी दर्ता भएको इप्पान निर्वाचन सचिवालयले जानकारी दिएको छ। वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद अधिकारी र मोहनकुमार डाँगी तथा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ।
५ जना उपाध्यक्षका लागि ७ जना व्यवसायीले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा उम्मेदवारी दिनेहरूमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम ब्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दीपेन्द्रबहादुर बम रहेका छन्।
यस्तै उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। ५ जना सचिवको लागि ६ जना, भरत नेपाल, भरतबहादुर खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिमप्रसाद पाठक र नारायण कँडेलले उम्मेदवारी दिएका छन्।
विधानअनुसार १० जना सदस्यहरूका लागि १७ जनाको उम्मेदवारी परेको छ। सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकासकुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन्।
३ जना महिला सदस्यमा सुसन कर्माचार्य, सुमन जोशी र ईशा श्रेष्ठलाई निर्विरोध चयन भएका छन्। इपानको २१औं साधाणसभा तथा कार्यसमितिको चयनको निर्वाचन यहि जेठ ३२ गते बिहीबारका लागि तय गरिएको छ। निर्वाचन समितिले अक्ष्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि १ १ लाख रुपैयाँ मनोनयन शुल्क तोकेको छ।