काठमाडौं। सरकारले आगामी आर्थिक वर्षबाट दुई दर्जन सुरुङमार्गको काम अघि बढाउने भएको छ। ‘सुरुङमार्ग विकास कार्यक्रम’ मा २३ आयोजनालाई बजेट विनियोजन गरिएको छ। पछिल्ला वर्ष सरकारले सुरुङमार्गलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेको छ।
निर्माणाधीन ग्वार्को फ्लाइ ओभरसहित सुरुङमार्गलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले १ अर्ब ५४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेका छन्।
प्रस्तावित सुरुङमार्ग निर्माण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले गर्ने छ। रातो किताबमा उल्लेख भएअनुसार निर्माणाधीन ग्वार्को फ्लाइ ओभरलाई १२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
त्यस्तै सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङमार्ग आयोजनालाई ४५ करोड रुपैयाँ विनियोजन भएको सडक विभागले जनाएको छ। तर, उक्त बजेट सिद्धबाबा सुरुङमार्गका लागि थोरै भएको विभागका अधिकारीहरू बताउँछन्।
‘अध्ययन नै नभएको टोखा–छहरेका लागि १ अर्ब २५ करोड रुपैयाँ छ, निर्माण सुरु भएको सिद्धबाबा सुरुङमार्गको बजेट करोडमा सीमित छ,´ विभागका ती अधिकारीले भने, ‘हाम्रो देशको बजेट फाँडफाँट प्रणाली राम्रो छैन, कर्मचारीको कुरा सुनेर, आवश्यकता हेरेरभन्दा पनि पहुँचका आधारमा बजेट जान्छ।’
ग्वार्को फ्लाइ ओभर, सिद्धबाबा सुरुङमार्ग, निर्माणाधीन छन्। ती आयोजनालाई अर्थ मन्त्रालयले ‘निर्माण’ शीर्षकमा बजेट विनियोजन गरेको छ। त्यस्तै अध्ययन सकिएको धरान–लेउती सुरुङमार्ग पनि निर्माण गर्ने तयारीमा सरकार देखिन्छ। धरान–लेउतीका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ।
तर, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्ययन र डिजाइन तयार नभएको टोखा–छहरे सुरुङमार्ग (नुवाकोट) लाई भने अध्ययन र निर्माण शीर्षकमा १ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री महतको जिल्ला भएकाले बढी बजेट विनियोजन गरेको आरोप लागेको छ।
सडक विभाग भने आगामी आर्थिक वर्ष २०८०/८१ मा टोखा–छहरे सुरुङको अध्ययनमात्रै हुने सम्भावना रहेको बताउँछ। अध्ययनका लागि बढीमा १० करोड रुपैयाँ खर्च हुनेछ। निर्माण सुरु गर्न नसकिने र बाँकी बजेट `फ्रिज´ जाने विभागले जनाएको छ।
सुरुङमार्ग विकास कार्यक्रमलाई ४ करोड ९० लाख, विभिन्न प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययन शीर्षकमा ५० लाख, दुम्किबास–बर्दघाट सुरुङमार्गका लागि १ करोड, हेम्जा नयाँपुल खण्ड सडक सुरुङमार्गलाई पनि १ करोड रुपैयाँ विनियोजन भएको छ।
त्यस्तै मझिस्तार–शक्तिखोर सुरुङमार्गलाई ४५ लाख, नयाँबानेश्वरमा अन्डरपास अध्ययन गर्न १० लाख, प्रवास–जोर्ते (पाल्पा) सडक सुरुङमार्गका लागि ३० लाख, बबई–छिन्चुमा १५ लाख, ताथली–रविओपी सुरुङमार्गलाई ४० लाख रुपैयाँ विनियोजन भएको छ।
सडक विभागले उपलब्ध गराएको विवरणअनुसार बिपीनगर–खुटियालाई १० लाख, गोदावरी–मानेचौर सुरुङमार्ग १० लाख, फुस्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडिखोला टनेल अध्ययन कास्कीलाई ४० लाख, बागलुङ–नरेठाँटी सुरुङमार्ग अध्ययन गर्न पनि ४० लाख, रारा राजमार्गको कुशेपाटन टनेलको डिपिआर तयार गर्न ४० लाख रुपैयाँ विनियोजन भएको छ।
इलाम सुनमाइ रजदुबोल सुरुङमार्ग अध्ययन गर्न ५ लाख ५० हजार, बेसीसहर–नाल्म सुरुङमार्ग ५० लाख, लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्तर्गत तुल्सिपुर लुमाहा सुरुङमार्ग २० लाख, जाजरकोट ब्याउलीढुंगा–जुम्ला टोप्ला सुरुङमार्ग २० लाख, पाँडगाी गाउँपालिकादेखि दुर्गाफाँट सुरुङमार्ग डिपिआर अध्ययन गर्न २० लाख गरी कूल १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ विनियोजन भएको हो।
तर, निर्माणाधीन नागढुंगा सुरुङमार्गलाई भने सुरुङमार्ग विकास कार्यक्रममा समावेश गरिएको छैन। यद्यपि, नागढुंगा सुरुङमार्ग पनि निर्माणाधीन छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नागढुंगा सुरुङको काम सक्ने उल्लेख छ। साथै, राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस (फास्ट ट्र्याक) आयोजनामा पनि तीनवटा सुरुङमार्ग निर्माणाधीन छन्।
सभाव्यता अध्ययन भएर निर्माणको आवश्यकता देखिएको बिपी राजमार्गमा पर्ने खुर्कोट–चियाबारी सुरुङमार्ग भने आगामी वर्षको बजेटमा समावेश छैन। साथै, उक्त सुरुङमार्गलाई अर्थ मन्त्रालयले किन प्राथमिकता दिएन? भन्ने विषयमा सडक विभाग अनभिज्ञ छ।