काठमाडौं। सरकारले ट्याक्सीको रूपमा प्रयोग हुने सवारीसम्बन्धी नयाँ मापदण्ड तोकेको छ। यातायात व्यवस्था विभागले साधारण ट्याक्सी, विशेष ट्याक्सी र विशिष्ट ट्याक्सीको नयाँ मापदण्ड कायम गरेको हो।
सरकारले साधारण ट्याक्सीका लागि इन्जिन डिस्प्लेमेन्ट भोल्युम (१.५ सम्म कम समेत समावेश हुने) ८ सय सिसी वा त्यसभन्दा माथि ब्याट्रीमा सञ्चित हुने ऊर्जा र सवारीको कूल भारबीचको न्यूनतम अनुपात ०.०१२ हुनुपर्ने, अधिकतम इन्जिन वा मोटरशक्ति ३० किलोवाट वा त्यसभन्दा माथि हुनुपर्ने मापदण्ड तोकेको छ।
साधारण ट्याक्सीकै हकमा अधिकतम इन्जिन वा मोटर टर्क ६० न्युटन मिटर वा त्यसभन्दा माथि हुनुपर्ने, ह्विलबेस २३ सय मिलिमिटर वा त्यसभन्दा माथि हुनुपर्ने र बुट स्पेस १ सय ६० लिटर वा त्यसभन्दा माथि हुनुपर्ने मापदण्ड तोकेको छ।
यस्तै विशेष ट्याक्सीका हकमा इन्जिन डिस्प्लेसमेन्ट भोल्युम (१.५ सम्म कमसमेत समावेश हुने) १२ सय सिसी वा त्यसभन्दा माथि ब्याट्रीमा सञ्चित हुने ऊर्जा र सवारीको कूल भारबीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने तोकेको छ। यस्तै विशेष ट्याक्सीकै हकमा अधिकतम इन्जिन वा मोटरशक्ति ५० किलोवाट वा त्यसभन्दा माथि हुनुपर्ने, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्युटन मिटर वा त्यसभन्दा माथि हुनुपर्ने र ह्विलबेस २४ सय मिलिमिटर वा त्यसभन्दा माथि हुनुपर्ने मापदण्ड तोकेको छ।
सरकारले विशिष्ट ट्याक्सीका हकमा इन्जिन डिस्प्लेसमेन्ट भोल्युम २ हजार सिसी वा त्यसभन्दा माथि ब्याट्रीमा सञ्चित हुने उर्जा र सवारीको कूल भारबीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्ने मापदण्ड तोकेको छ। यस्तै विशिष्ट ट्याक्सीमा अधिकतम इन्जिन वा मोटरशक्ति १ सय किलोवाट वा त्यसभन्दा माथि हुनुपर्ने, अधिकतम इन्जिन वा मोटर टर्क १ सय ७० न्युटन मिटर वा त्यसभन्दा माथि हुनुपर्ने, ह्विलबेस २७ सय मिलिमिटर वा माथि हुनुपर्ने र बुट स्पेस ४ सय लिटर वा माथि हुनुपर्ने मापदण्ड तोकेको छ।