काठमाडौं। छिमेकी भारतको अर्थतन्त्रको आकार बढेर ३७ खर्ब ५० अर्ब (३.७५ ट्रिलियन) अमेरिकी डलर पुगेको छ। आगामी पाँच वर्षमा संसारकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने तयारीमा रहेको भारतीय अर्थतन्त्रको आकार बढेर उक्त परिमाणमा पुगेको त्यहाँको वित्त मन्त्रालयले जनाएको छ।
सन् २०२३ मा भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) ३७ खर्ब ५० अर्ब डलर पुगेको वित्तमन्त्री निर्मला सितारामनले जानकारी गराएकी छिन्।
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा भारतको जिडिपी २० खर्ब (२ ट्रिलियन) डलरको थियो। मोदीले सत्तारोहण गरेको ९ वर्षमा भारतको जिडिपी १७ खर्ब ५० अर्ब डलर बढेको वित्त मन्त्रालयले जनाएको छ।
जिडिपी रिपोर्ट सार्वजनिक गर्दै अर्थमन्त्री सितारामनले भारतलाई विश्व अर्थतन्त्रमा ‘उज्ज्वल स्थान’ भनेकी छिन्। विश्वको पाँचौं ठूलो अर्थतन्त्रका रूपमा आफ्नो स्थानलाई उजागर गरेको उनले उल्लेख गरेकी छिन्।
गत वर्ष भारतले बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको थियो। भारत अब अमेरिका, चीन, जापान र जर्मनी भन्दा पछाडि मात्र छ। विश्व्यापी मन्दीबीच भारतको आर्थिक वृद्धि ७.२ प्रतिशत हुने देखिएको छ। एक दशकअघि भारत ठूला अर्थतन्त्रहरूमा १०औं स्थानमा थियो। अहिले पाँचौं स्थानमा आएको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार २०२८ सम्ममा भारतले तेस्रो स्थानमा रहेको जापानलाई प्रतिस्थापन गरी तेस्रो ठूलो अर्थतन्त्र बन्ने छ। त्यसबेला भारतको अर्थतन्त्रको आकार बढेर ५५ खर्ब (५.५ ट्रिलियन) डलर पुग्ने प्रक्षेपण आइएमएफको छ।
अहिले भारतले बेलायतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। भारतले आउँदो २०२७ सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने महत्वकांक्षी योजना सार्वजनिक गरिसकेको छ।
त्यसबेला चौथो स्थानमा हुने जापानको अर्थतन्त्रको आकार बढेर ५३ खर्ब (५.३ ट्रिलियन) डलर पुग्ने अनुमान आइएमएफको छ। अहिले जापानको अर्थतन्त्रको आकार ४३ खर्ब (४.३ ट्रिलियन) डलर छ।