काठमाडौं । यातायात व्यवस्था विभागले ट्याक्सीको नयाँ मापदण्ड तथा दर्ता चाँडै कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । विभागले २०७५ सालमा नै ट्याक्सीको नयाँ मापदण्ड बनाएको थियो । सोही मापदण्डअनुसार अब १२ सय सीसीभन्दा कम क्षमताका सवारीसाधनलाई ट्याक्सी बनाएर चलाउने नपाइने भएको छ ।
पुराना ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ न्यूनतम १२ सय सीसीलाई मात्रै अनुमति दिने प्रावधान मापदण्डमा प्रस्ताव गरिएको थियो । सोहि प्रस्तावअनुसारको मापदण्ड स्वीकृत गर्ने तयारी रहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार ट्याक्सीको नयाँ मापदण्ड तोक्ने फाइल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको थियो । तर, अहिले यसको सम्पुर्ण जिम्मा विभागकै भनेर मन्त्रालयले फिर्ता पठाएको छ,’ उनले भने ‘अब यहि बिषयमा विभागमा छलफल गरिरहेका छौ ।’
अहिले चलिरहेका ट्याक्सीले यात्रुलाई गुणस्तरीय सुविधा नदिएकाले नयाँ मापदण्ड बनाइएको उनले बताए । सोहि कारण ट्याक्सी सेवालाई थप गुणस्तरीय बनाउन विभाग अगाडी बढेको उनले जानकारी दिए । ‘यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन सुविधायुक्त हुनुपर्छ, मापदण्ड कार्यान्वयनमा आएपछि त्यसको सुनिश्चितता हुन्छ’ उनले भने ‘अहिलेको ट्याक्सीमा घाम लाग्दा तातेर भित्र बस्न कठिन हुन्छ तर एसी चलाउने सुविधा हुँदैन । सिटहरु यात्रु मैत्री छैनन, अग्ला मान्छ अगाडि घुँडा ठोकिएर हैरान हुन्छन् ।’
सुरुआतमा विभागले ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरेर दर्ता गर्ने प्रस्ताव गरेको थियो । तर, यसपटक ट्याक्सीको मापदण्ड तोक्दा कुनै खालको वर्र्गीकरण नगरिने विभागका एक अधिकारीले बताए । पुराना व्यवसायीलाई ट्याक्सी २० वर्ष चलाएपछि पुनः सोही नम्बर प्लेटमा अर्को किनेर चलाउन सरकारले अनुमति दिने गरेको छ ।
तर, नयाँ नम्बरको ट्याक्सी चलाउन पाइँदैन । सोहि कारण एउटा ट्याक्सीको नम्बर प्लेटका लागि मात्रै १० लाखसम्म तिर्नुपर्ने बाध्यता छ । हाल काठमाडौं उपत्यकामा ८ हजार ९५० ट्याक्सी सञ्चालमा रहेको विभागले जनाएको छ । नेपाल भरी करिब १६ हजार ट्याक्सी रहेका छन् ।