काठमाडौं। आजियाटा र एनसेलले आइसिएसआइडीको मध्यस्थतासम्बन्धी निर्णयको सम्मान गर्ने बताएको छ। एक विज्ञप्ति जारी गर्दै न्यायाधिकरणको निर्णयलाई सम्मान गर्ने र निर्णयका सम्बन्धमा थप बुझ्ने काम भएको आजियाटाले जानकारी दिएको छ।
‘आजियाटा न्यायाधीकरणको निर्णयलाई सम्मान गर्दछ र निर्णयका सम्बन्धमा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिरहेको छ,’ विज्ञप्तिमा छ, ‘यस विषयमा अद्यावधिक जानकारी पछि घोषणा गरिनेछन्। आजियाटा आइसिएसआइडी र प्रक्रियामा संलग्न सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दछ र नेपाल सरकारसँग सदा झैं रचनात्मकरूपमा संलग्न रहनेछ।’
आजियाटा इन्भेस्टमेन्टस् (यूके) लिमिटेड (आजियाटा यूके) र एनसेल आजियाटा लिमिटेड (एनसेल) ले ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच फागुन १९, २०४९ (बीआइटी मध्यस्थता) मा भएको द्विपक्षीय लगानी प्रवर्द्धन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबी राख्दै नेपालविरुद्ध आजियाटा यूकेले सन् २०१६ मा एनसेलको ८० प्रतिशत सेयर अप्रत्यक्षरूपमा अधिग्रहण (कारोबार) गर्दा नेपालले लगाएको पुँजीगत लाभकर सम्बन्धमा मध्यस्थता गरिदिन निवेदन दिएको थियो।
सो निवेदनका सम्बन्धमा ‘इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट’ (आइसिएसआइडी) ले आफ्नो मध्यस्थता कारबाही (मुद्दा नम्बर एआरबी\१९\१५) सम्बन्धी निर्णय दिएको आजियाटा ग्रुप बरहाद (आजियाटा) ले पुष्टि गरेको छ। आइसिएसआइडी कम्भेन्सनको धारा ३७ (२) (बी) अनुसार गठन भएको न्यायाधीकरणले जेठ २६, २०८० मा आजियाटा यूके र एनसेलले गरेको दाबी खारेज गर्दै आफ्नो निर्णय दिएको हो। न्यायाधीकरणले आफ्नो निर्णयमा अब नेपालले यस कारोबारसँग सम्बन्धित कुनै पनि कर, दस्तुर, जरिवाना वा ब्याज माग गर्न नपाउने संकेत गरेको विज्ञप्तिमा छ।
मध्यस्थता प्रक्रियाको प्रारम्भिक चरणमा नेपालले न्यायाधिकरणको आदेशको पालना नगरेको कारणले गर्दा आजियाटा युके र एनसेललाई निश्चित रकम भुक्तानी गर्न पनि नेपाललाई आदेश दिइएको विज्ञप्तिमा जनाइएको छ। यस्तो रकममा आजियाटा र एनसेलले लिएको ऋण फिर्ता गर्नेगरि करिब १४ लाख अमेरिकी डलर रहेको छ। यो निर्णयअनुसार अब आजियाटा यूके र एनसेलले कुनै रकम तिर्न बाँकी रहेको छैन।
आजियाटा र एनसेलले नेपालको आर्थिक, सामाजिक विकासका लागि उलेख्य योगदान पुर्याएको छ। देशको एक ठूलो करदाताका रूपमा एनसेलले स्थापनादेखि गत आर्थिक वर्ष २०७८÷७९ सम्ममा कर तथा विविध शुल्कहरू बापत २ खर्ब ८३ अर्ब रुपैयाँ योगदान गरेको छ। एनसेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी २५ हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ र १ करोड ६० लाखभन्दा बढी ग्राहकलाई आफ्नो नेटवर्कमार्फत जोडेको छ। आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत एनसेलले राष्ट्रका लागि महत्वपूर्ण भनेर पहिचान गरिएका क्षेत्र शिक्षा, स्वास्थ्य, र वातावरणका विभिन्न आयोजनामा १ अर्ब ७५ करोडभन्दा बढी लगानी गरिसकेको छ।