काठमाडौं। एउटा बोतलमा टाँसिएको अन्तःशुल्क स्टिकर सजिलै अर्को बोतलमा टाँस्न मिल्छ। केही समयअघिसम्म होटलका वेटरदेखि अरू जाेसुकैले सजिलै एउटा बोतलमा टाँसिएको अन्तःशुल्क स्टिकर अर्को बोतलमा टाँसेर मदिरा बेच्थे।
छिमेकी देशबाट चोरी पैठारी भएको मदिरा वैधानिक बनाउन एउटा बोतलमा टाँसिएको अन्तःशुल्क स्टिकर उप्काउने र गैरकानुनीरूपमा भित्रिएको अर्को बोतलमा टाँस्ने गरिन्थ्यो। कारण– सरकारले गुणस्तरहीन अन्तःशुल्क स्टिकर बनाएर हो। यद्यपि, स्वदेशमै मदिरा उत्पादन गर्नेले अन्तःशुल्क स्टिकर प्लास्टिकले छोपेका थिए।
सरकारले यति कमसल अन्तःशुल्क स्टिकर बनाएको थियो, होसियारीपूर्वक उप्काउँदा सजिलै उप्किन्थ्यो र अर्को बोतलमा सहजै टाँसिन्थ्यो। व्यवसायीले सरकारले दिएको अन्तःशुल्क स्टिकर गुणस्तरहीन भएको र वैधानिकरूपमा भित्रिएका मदिरामा टाँसिएको अन्तःशुल्क स्टिकर पछि अवैधानिकरूपमा भित्रिएका बोतलमा टाँसिन थाले।
व्यवसायीले आन्तरिक राजस्व विभागका अधिकारी भेटेर अन्तःशुल्क स्टिकरको गुणस्तरबारे जानकारी गराए। ‘तपाईंहरूले दिएको अन्तःशुल्क स्टिकरमा गमको मात्रा एकदमै कम छ,’ महानिर्देशकसहितको टोलीलाई मदिरा उत्पादकले भनेका थिए, ‘एकपटक टाँसिएको स्टिकर च्यातिनुपर्छ, उप्काउनै नसक्ने हुनुपर्छ। तर, यहाँबाट प्रदान भएको स्टिकर १० वटा बोतलसम्म टाँसिन्छ।’
व्यवसायीले अन्तःशुल्क स्टिकरको गुणस्तर बनाउन सरकारलाई बारम्बार दबाब दिइरहेका बेला सरकारले अन्तःशुल्क स्टिकरको सुरक्षाको जिम्मा पनि उनीहरूलाई नै दिएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अन्तःशुल्क स्टिकर छोप्नुपर्ने नीति अघि सारेको छ।
आफ्नो गुणस्तर बढाउन पहलकदमी लिनुको सट्टा कमसल स्टिकरलाई बाहिरी 'कभर' गनुपर्ने नियम बनाइएको हो। अब व्यवसायीले मदिराको बिर्कोमाथि अन्तःशुल्क स्टिकर र त्यसमाथि प्लास्टिकले ढाक्नुपर्ने छ। त्यसका लागि व्यवसायीले नयाँ मेसिनसहित लगानी थप्नुपर्छ।
राजस्व संकलनमा धक्का बेहोरेको सरकार अन्तःशुल्क स्टिकरमा देखिएको बदमासी रोक्ने जिम्मेवारी व्यवसायीकै काँधमा हालेर उम्कन खोजेको छ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंक पाण्डेले आन्तरिक उत्पादनमा पहिल्यैदेखि कार्यान्वयनमा भए पनि आयातित मदिरामा आगामी साउनदेखि लागू हुने गरी व्यवस्था गरिएको बताए।
‘अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि सरकारले नयाँ व्यवस्था गरेको हो,’ उनले भने, ‘अन्तःशुल्क ऐन २०५८ मा भएको व्यवस्था कार्यान्वयन गरेको हो। अब विदेशी ब्रान्डका मदिरा आयात गर्ने आयातकर्ताले साउन १ बाट अनिवार्यरूपमा अन्तःशुल्क स्टिकर प्लास्टिकले छोप्नुपर्छ, सुरक्षा गर्नुपर्छ।’