काठमाडौं। आगामी आर्थिक वर्ष २०८०/८१ मा केन्द्र सरकारको बजेटमा खुर्कोट–चियाबारी सुरुङमार्ग समेटिएको छैन। पूर्वसम्भाव्यता अध्ययनका आधारमा हेर्दा मुलुकको सडक सञ्जालमा निर्माण गर्न लागिएको यो सुरुङमार्ग सबैभन्दा लामो हो।
बिपी राजमार्गमा निर्माण गर्न लागिएको उक्त सुरुङमार्ग निर्माणको आवश्यकता प्राविधिक कर्मचारीले औंल्याइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटबाट उक्त सुरुङमार्ग हटाएका छन्। केन्द्र सरकारमातहत सडक विभागले सुरुङमार्ग अध्ययन र निर्माण गर्नुपर्ने हुन्छ।
तर, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल २०८०/८१ को बजेटमा खुर्कोट–चियाबारी सुरुङमार्ग नसमेटिएको विषयमा बेखबर छन्। उनका अनुसार २०८०/८१ को बजेट सिलिङ (बजेट सीमा) मै खुर्कोट–चियाबारी सुरुङमार्गको योजना समावेश थिएन।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाल र जापानी टोलीबीच सुरुङमार्ग बनाउने छलफल भएको महानिर्देशक ढकाल बताउँछन्।
‘योजना आयोगका सदस्य डा. रामकुमार फुयाल र जापानी टोलीबीच सुरुङमार्ग बनाउने विषयमा छलफल भएको थाहा छ, तर सिलिङ र बजेट भाषणमा किन समावेश भएन मैले पनि जानकारी पाइनँ,’ महानिर्देशक ढकालले क्यापिटल नेपालसँग भने।
उक्त सुरुङमार्ग निर्माणको आवश्यकता रहेको उनको भनाइ छ। बिपी राजमार्गमा पर्ने उक्त सुरुङमार्ग जापान सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण गर्ने योजना छ। बिपी राजमार्ग पनि जाइकाले बनाएको हो।
तर, सुरुङमार्ग भने जाइकाले अनुदानमा बनाउन नचाहेको महानिर्देशक ढकालले बताए। ‘अनुदान खुर्कोट–चियाबारी सुरुङमार्ग बनाउने सम्भावना छैन, ऋण सहयोगमा बनाउन आर्थिक मन्दीका कारण अर्थ मन्त्रालयले चासो नदिएको हो कि,’ उनले भने।
के गर्दैछ बागमती प्रदेश?
केन्द्र सरकारले बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने खुर्कोट–चियाबारी सुरुङमार्ग आगामी आर्थिक वर्षको बजेटबाट हटाए पनि बागमती प्रदेशले भने समावेश गर्ने भएको छ। २०८०/८१ को नीति तथा कार्यक्रममा प्रदेशले आफ्नो क्षेत्रभित्र पर्ने राष्ट्रियस्तरका खुर्कोट–चियाबारी र टोखा–छहरे दुईवटा सुरुङमार्ग समावेश गरेको छ।
प्रदेश सरकार आफैंले दुवै सुरुङमार्ग बनाउन लागेको हो? बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम गेलाल भन्छन्, ‘त्यति धेरै लागतका आयोजना प्रदेशले मात्रै गर्न सजिलो छैन। संघीय सकारसँग सहकार्य गर्नलाई प्रदेशले बजेट विनियोजन गर्ने तयारी हो, निर्माण नै गर्ने होइन।’
यद्यपि, प्रदेशको बजेट निर्माण चरणमा रहेकाले कति रकम विनियोजन हुन्छ भन्ने प्रष्ट भएको छैन। सुरुङमार्ग निर्माणका लागि बजेट विनियोजन गर्ने तयारी भए पनि प्राविधिक कर्मचारी र सुरुङमार्ग अध्ययनका विषयमा भने प्रदेशले कुनै छलफल गरेको छैन।
सन् २०२२ फेब्रुअरीमा चियाबारी–खुर्कोट सुरुङमार्ग पूर्वसम्भाव्यता अध्ययन सिआइटी इन्टरनेसनल कम्पनी र ओरिएन्ट कन्सल्टेन्टको जेभी पार्टनर गरेको थियो। उक्त अध्ययनअनुसार सुरुङमार्गको लम्बाइ ७.७ किलोमिटर हुनेछ।
पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनले ३७ अर्ब रुपैयाँ लाग्ने देखाएको छ। तर, डिपिआर तयार नभएसम्म यकिन लागत रकम अनुमान गर्न सकिँदैन।
सुरुङमा १.६ किलोमिटर पहुँचमार्ग पनि निर्माण हुनेछ। खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग निर्माण भएपछि २२ किलोमिटरभन्दा बढी सडकको दुरी छोट्टिने छ।
हाल बिपी राजमार्ग (धुलिखेल–बर्दिवास) को लम्बाइ १ सय ६० किलोमिटर छ। पूर्वसम्भाव्यता अध्ययन सकिए पनि सुरुङको दुवैतर्फका सुरुवाती बिन्दु कहाँ बनाउने भन्ने निष्कर्ष निस्किएको छैन।