काठमाडौं। जलविद्युत व्यवसायी उत्तम ब्लाेन लामाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्।
उनी एक दशकदेखि जलविद्युत व्यवसायमा सक्रिय रहँदै आएका छन्। यो सक्रियतालाई अझ ओजपूर्ण बनाउँदै पछिल्लो समय उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारसँग विभिन्न औपचारिक तथा अनौपचारिकरूपमा सम्पर्क, समन्वय र सहजीकरणको भूमिका समेत निर्वाह गर्दै आएका छन्।
यही जेठ ३२ गते इप्पानको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ। लामा हाल कार्यसमिति सदस्य छन्। लामाले इपानलाई सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्दै अगाडि बढ्न सक्ने हैसियतको संस्था बनाउनुपर्नेमा जोड दिएका छन्।
तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक (अहिले एनएमबी बैंक) अन्तर्गतको सिइडिबी हाइड्रो फन्ड लिमिटेडमार्फत निर्माण सुरु भएको ४.४ मेगावाटको राधी जलविद्युत आयोजनाको निर्माणबाट यस क्षेत्रमा प्रवेश गरेका लामा अहिले एक दर्जन बढी आयोजना निर्माणमा संलग्न छन्।
जलविद्युत व्यवसायमा प्रवेश गरेको छोटो समयमै लामा व्यापारिक उत्पादन, निर्माणाधीन, निर्माणको चरणमा रहेका र अध्ययनरत गरी झण्डै ६ सय मेगावाटका आयोजनासँग जोडिएका छन्। उनको लगानी रहेका ६७ मेगावाट आयोजनाहरू सञ्चालनमा आइसकेका छन्। तीमध्ये १२ मेगावाटको दोर्दी खोला, ११ मेगावाटको तल्लो खारे खोला, ४.४ मेगावाटको राधी, ४ मेगावाटको खुदी, ५ मेगावाटको रुकुमगाड, १सय ८३ किलोवाटको स्याङगे, ३० मेगावाटको न्यादी हुन्।
यसैगरी, संखुवासभामा ८५ मेगावाटको कसुवा खोला निर्माण भइरहेको छ। लामा एनएमबी बैंक र नेपाल पावर ट्रेडिङ कम्पनी (नेपेक्स) को सञ्चालक पनि हुन्।
लामाको लगानी रहेका र अध्ययन चरणका आयोजनाहरूमा १ मेगावाटको किसेदी, ३० मेगावाटको म्याग्दी ‘ए’, ३५ मेगावाटको सुपर इखुवा, २५ मेगावाटको माथिल्लो इंखुवा, ५० मेगावाटको नार खोला, ५ मेगावाटको माथिल्लो रुकुमगाड र ३ सय मेगावाटको सुपर कर्णाली रहेका छन। सबै आयोजनाको क्षमता जोड्दा ५ सय ९८ मेगावाट हुन्छ।