काठमाडौं । सरकारले एक दिनको कारोबार पुरै ठप्प हुने गरी बजेट ल्याउने गरेको भन्दै सांसद दीपक गिरीले बिहान १० बजे बजेट प्रस्तुत गर्न माग गरेको छन्। सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि टिप्पणी गर्दै गिरीले पुरै एकदिन कारोबार बन्द गरेर अर्थतन्त्रमा क्षति पुर्याउन नहुने बताए।
‘वार्षिक २० खर्बको अन्तर्राष्ट्रिय व्यापार गर्ने देशले एकदिन कारोबार रोक्दा कति रकम गुमाइरहेको होला अनुमान गरौं। म सबै सरकार पक्ष र प्रतिपक्ष दलका माननियहरूलाई यस विषयमा विचार गर्न आग्रह गर्दछु । र, आगामी वर्षदेखि कारोबर नरोकी बिहानै बजेट ल्याउने प्रथाको सुरुवात गरौं’, गिरीले भने।
भारतमा बेलुका ४ बजे बजेट आउने बजेट अहिले सुधारेर बिहान ल्याउन थाल्नेका पनि उनले बताए। ‘पहिला अंग्रेजको शासनकालमा बेलायतमा भारतको बजेट निकै महत्वका साथ सुनिने हुँदा बेलुका ४ वजे ल्याउने गरिएको रहेछ,’ उनले भने, ‘त्यसैलाई हामीले अनुसरण गरेका थियौं। अहिले भारतले सच्यायो हामी बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीमै छौं।’
त्यसैगरी पहुँचवालाको क्षेत्रमा गएको बजेटले सारा नेपालीलाई गिज्याइरहेको उनले टिप्पणी गरे। देशको आवश्यकता बुझेर बजेट ल्याउनुपर्नेमा सीमित व्यक्तिको निर्वाक्षेत्र केन्द्रित भएर ल्याएकोमा उनले रोष प्रकट गरे।
आफ्नो मन्तव्यमा विश्वका सम्पन्न र विकसित देशदेखि विकासोन्मुख देशसम्म बजेटको चर्चा धेरै हुन्छ । संसदमा सांसदले आफ्नो विचार राख्छन्। त्यसलाई परिवर्तन गर्ने वा नगर्ने विषय सरकारमा भर पर्छ । तर, हामीकहाँ के परिवर्तन गर्नुपर्छ र गर्नु हुँदैन भन्ने विषयमा छलफल भएपनि देखिने गरी परिवर्तन भएको इतिहास नभएको उनले बताए।
‘अहिले नेपाली अर्थतन्त्र सिथिल बनेको छ। अर्थतन्त्रलाई जनाउने सूचकहरू बलिया देखिएका छन्। रेमिट्यान्स बढेको छ। सोधानान्तर बचत राम्रो भएको छ। वैदेशिक व्यापार ठिकठाक छ। सेवा क्षेत्रको विस्तार हुँदैछ। सबैभन्दा ठूलो समस्या रहेको डलर सञ्चिति करिब १५ अर्ब पुग्न लागेको छ,’ उनले भने, ‘यसका बाबजुद बजार चलायमान नहुनुको कारण के होला? यसलाई खोज्ने काम हामी सबैको होइन? यो समस्या ठिक गर्न के गर्ने भन्ने विषयले बजेटमा प्राथमिकता पाउनुपर्ने थियो। त्यो भएन।’