काठमाडौं। नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा प्रतिभा डबली कार्यक्रमको इन्क्युबेसन सुरु भएको छ। यही जेठ २८ गतेदेखि जेठ ३२ गतेसम्म आइडिया स्टुडियो नेपालको सभाहल, बागबजारमा निजामती कर्मचारीहरूको नवीन सोच–प्रतिभा प्रस्फुटनका लागि पाँच दिने इन्क्युबेसन कार्यक्रम आइतबारबाट सुरु भएको हो।
प्रतिभा डबलीको उद्घाटन कार्यक्रममा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्याल र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा। छिरिङ लामाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आवेदन फारमको माध्यमबाट प्राप्त निवेदनहरूमध्ये उत्कृष्ट १० आइडियालाई इन्क्युबेसनको लागि छनौट गरिएको थियो।
कार्यक्रममा राष्ट्रसेवकका रूपमा रहेका निजामती कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाहसँगै नीति तर्जुमा तथा कार्यान्वयन, सेवा प्रवाह र विकास निर्माण लगायतका क्षेत्रलाई थप क्रियाशिल, व्यवहारिक र व्यवस्थित कसरी बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न विशेषज्ञको माध्यमबाट तालिम तथा परामर्श, यस पाँच दिने इन्क्युबेसन कार्यक्रमको मुख्य उद्देश्य हो।
इन्क्युबेसनमा विभिन्न कार्य क्षेत्रका सहभागीहरूको विचारलाई परिष्कृत गरी अन्तिम पिचको लागि तयारी गरिनेछ। इन्क्युबेसन कार्यक्रमले सहभागिको सोचलाई सहयोग, सिकाइ र वृद्धिको लागि अनुकूल वातावरण प्रदान गर्नेछ, जहाँ सहभागीले नयाँ दृष्टिकोण अन्वेषण गर्न, बहुमूल्य अन्तरदृष्टि प्राप्त गर्न र निजामती कर्मचारीले सामना गर्ने चुनौतीको लागि नवीन समाधानहरू विकास गर्न सक्छन्।
प्रतिभा डबली कार्यक्रमको अन्तिम चरणबाट छनोट भएका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निजामती कर्मचारीलाई सम्मान र तोकिएको पुरस्कार प्रदान गरिने छ।