काठमाडौं। नेपाली बजारमा एमजी जेडएस इभी लङ रेन्जको मूल्य १० लाख रुपैयाँले घटेको छ। एमजी मोटर्सका इलेक्ट्रिक सवारीसाधन बिक्री/वितरण गरिरहेको पारामाउन्ट मोटर्सले एमजी जेडएस इभी लङ रेन्जको मूल्य १० लाख रुपैयाँले घटाएको हो।
सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आर्थिक विधेयकमा १ सय किलोवाटदेखि २ सय किलोवाट क्षमताका मोटर जडान भएका इभीमा १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क घटाएसँगै लङ रेन्ज जेडएस इभीको मूल्य घटेको हो। पहिले यो गाडीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ भएकोमा अब यसको मूल्य ७१ लाख ९९ हजार रुपैयाँमात्र हुनेछ।
लङ रेन्ज एमजी जेडएस इभीमा ७२.६ किलोवाट ब्याट्री छ, जसको रेन्ज ४ सय ४० किलोमिटर हुनेछ। यसकाे ग्राउन्ड क्लियरेन्स १ सय ७५ मिलिमिटर छ। यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ। यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ। यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलइडी डिआरएल, एलइडी टेलल्याम्प आदि छन्।
एमजी जेडएस इभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेराजस्ता फिचर उपलब्ध छन्।
यो गाडी ८.५ सेकेन्डमा १ सय किलोमिटर प्रतिघन्टाको गतिमा गुड्न सक्छ। एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पिएम फिल्टरलगायत सुविधा छन्।