काठमाडौं। कुरा तीन वर्षअघिको। सोलुखुम्बु लुक्लामा लामो समयदेखि पारिवारिक व्यापारका रूपमा पर्यटन क्षेत्रमा आबद्ध शेर्पा दिदीबहिनी पासाङमाया, बिमला, अञ्जु र छेची शेर्पाले आफ्नै स्वामित्वमा केही नयाँ व्यवसाय गर्ने सोच बनाए।
पारिवारिक व्यापारलाई साथ दिँदै नयाँ काम पनि सुरु गर्ने अठोट लिएपछि उनीहरूले लुक्लामै थकाली रेस्टुरेन्ट सञ्चालनमा ल्याए। ‘हामीले सुरुमा जानेको व्यवसाय नै होटल तथा रेस्टुरेन्ट भएकाले थकाली खानाको रेस्टुरेन्ट सुरु गरेका थियौंं,‘ छेची सम्झिन्छिन्।
थकाली रेस्टुरेन्टले छोटो समयमै राम्रो ‘पिकअप’ लिएपछि उनीहरू थप हौसिए। साझेदारीमा काम गर्दा पनि राम्रो फाइदा र सफलता मिल्दो रहेछ भन्ने स्थापित भएसँगै हौसिएका ती चार ‘शेर्पा दिदीबहिनी टिम’ ले अझ पृथक व्यवसाय गर्ने निधो गर्याे। दिदीबहिनी भएका कारण उनीहरू एकअर्काले गरेको निर्णयलाई सहजै कार्यान्वयन गर्थे।
रेस्टुरेन्टको सफलतापछि नयाँ व्यापार सोचमा रहिरहँदा लुक्लामा राम्रो खालको ‘क्लोदिङ’ (कपडा) स्टारेको आवश्यकता महसुुस गरे। क्लोदिङ स्टोर सञ्चालन त गर्ने तर, कस्ता–कस्ता कपडा र कुन ब्रान्डका राख्ने भन्ने अन्यौल भयो। नेपाली ब्रान्ड प्रोत्साहन गर्ने सोचसाथ उनीहरूले त्यस विषयमा अध्ययन बढाए। सञ्चालकमध्येकी छेची काठमाडौं रहेर उच्च शिक्षा अध्ययन गरेकी र फेसनसम्बन्धी बढी नै चासो राख्ने भएकाले पनि गुणस्तरियताको खोजीमा लागिन्। तर, उनीहरूले खोजेको जस्तो गुणस्तरीय र मूल्य सुहाउँदो भेट्टाएनन्।
स्टोरका लागि आवश्यक सामान नै भेट्न नसकेपछि उनीहरूले आफैं उत्पादन गरेर बेच्ने निर्णय गरे। आफैं पनि पर्यटन व्यवसायी र धेरै आफन्त पर्वतारोहण र पदयात्रा क्षेत्रमा लामो समयदेखि आबद्ध भएकाले पनि उनीहरूलाई कस्ता खालका कपडा चाहिन्छ भन्ने अध्ययन गर्न टाढा जानु नै परेन।
चिनेजानेकादेखि सबै आफन्तलाई योजना सुनाए। र, कस्तो खालको डिजाइन र उत्पादन गर्ने भन्ने छलफलपछि उनीहरूले सन् २०२० मा ‘लुक्ला आउटडोर’ क्लोदिङ स्टोर सञ्चालनमा ल्याए। २०१९ अन्तिमदेखि उत्पादन सुरु गरे पनि आधिकारिकरूपमा २०२० मा लुक्लामै स्टोर राखेर नयाँ ‘भेन्चर’ अगाडि बढाए।
लुक्ला खासगरी खुम्बु क्षेत्रमा बाह्रै महिना चिसो हुने भएकाले पनि न्यानो कपडाको आवश्यकता सधैं पर्छ। आफूहरूले पनि सधैं बाक्लो खालका कपडा लगाइरहने भएकाले पनि खुम्बु क्षेत्रका स्थानीय र त्यस क्षेत्रमा आउने पर्यटक लक्ष्य गरी सुरु गरेको लुक्ला आउटडोरले अहिले सफलताको सिँढी चढिरहेको छ।
लुक्लाबाट सुरु भएको स्टोर अहिले काठमाडौंसम्म आइपुगेको छ। कोभिड महामारीका बेला पनि राम्रो सफलता पाएको लुक्ला आउटडोरका उत्पादनका माग काठमाडौंभित्र पनि अधिक भएकै कारण केही समयदेखि मण्डिखाटारको बिगमार्टसँगै स्टोर सञ्चालनमा ल्याएका छन्।
‘हामीले सुरु गर्दा काठमाडौंसम्म स्टोर खोल्ने र विदेशबाट समेत डिमान्ड आउला भन्ने कल्पनासमेत गरेका थिएनौं,’ छेची भन्छिन्, ‘गुणस्तरमा सम्झौता नगरी सबैलाई सहज हुने मूल्यमा उपलब्ध गराएकै कारण छोटो समयमा लोकप्रियता हासिल गरेका हौं। अहिले स्वदेशमात्र भनई विदेशबाट पनि राम्रो माग आइरहेको छ।‘
चिनेजानेका र आफन्तले समेत लुक्ला आउटडोरमा उत्पादन भएका कपडा राम्रो मानेपछि बिस्तारै व्यवसायले गति लिँदै गएको छ। यही गतिका कारण काठमाडौंमा पनि स्टोर खोल्नुपर्ने दबाब परेको उनको भनाइ छ। २०२३ भित्र ठमेल, बौद्ध र पोखरामा पनि स्टोर खोल्ने तयारीमा उनीहरू छन्।
लुक्ला आउटडोरका उत्पादन नेपालमात्र होइन, विदेशमा समेत माग बढिरहेको छ। स्टोर आउने विदेशीदेखि त्यहाँ बस्ने नेपालीले समेत चासो देखाएकाले निकट भविष्यमा विदेशमा समेत यसका उत्पादन पु¥याउने गरी तयारी थालिएको हो। अहिले स्कटल्यान्ड र अमेरिकाबाट आउटलेटका लागि प्रस्ताव आइसकेको उनीहरूको भनाइ छ।
लुक्ला र काठमाडौंका दुई स्टोरबाट मात्र बिक्री वितरण भइरहेका उत्पादन सबैले मनपराएकै कारण अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बुनेका हुन्। तर, पर्याप्त उत्पादन नगरी स्टोर नथप्ने पक्षमा उनीहरू छन्। जब आफूहरू पूर्णरूपमा मजबुत भइँदैन, तबसम्म स्टोर खोलेरमात्र नहुने भन्दै अहिले उत्पादन क्षमता वृद्धि गर्न लागिरहेका छन्।
अहिले लुक्ला आउटडोर पूर्णरूपमा सम्हाल्ने जिम्मेवारी छेचीले लिएकी छिन्। अरू तीन दिदी लुक्लामै बसेर पारिवारिक व्यापारसँगै आफ्नो भेन्च्र पनि हेर्दै आएका छन्।
उत्पादन गरेर बिक्री गरेको यति छोटो समयमै सबैको मन जितिएला भन्ने कल्पनासमेत उनीहरूको थिएन। मात्र, आफूहरूलाई पनि लाउन हुने र खुम्बु क्षेत्रमा आउनेलाई बेच्ने गरी तयार पारेका उत्पादनको अहिले विश्वव्यापी माग बढेको देख्दा उनीहरू अचम्भित छन्।
के हो लुक्ला आउटडोर?
आउटडोर क्लोदिङ ब्रान्ड विषेशगरी ट्रेकिङ (पदयात्रा), हाइकिङ (छोटो दुरीको पदयात्रा) र माउन्टेनियरिङ (पर्वतारोहण) जाँदा लगाउने कपडा उत्पादन गरी बिक्री गर्ने ‘जंक्सन’ हो। २०२० मा सुरु भएयता कोभिड महामारी र आर्थिक मन्दी झेल्दै आएको आउटडोरले छोटो समयमा धेरैको मन जितिसकेको छ।
‘फ्याब्रिक बेस’ मा उत्पादन हुँदै आएको लुक्ला आउटडोरका उत्पादन ‘मेड इन नेपाल’ हो। केही प्mयाब्रिक नेपालमै उत्पादन भए पनि अधिकांश विदेशबाट ल्याएर यहाँ बनाउने गरिएको छ।
पछिल्लो समय काठमाडौंसहित सबै ठाउँमा सहज लाउन मिल्ने खालका कपडासमेत उत्पादन गर्न थालिएको सञ्चालक छेची बताउँछिन्। ‘क्याजुअल वेयर’ मा लाउन मिल्ने खालका खासगरी जाडो याम लक्ष्य गरी ज्याकेट, स्वेटर उत्पादन हुँदै आएको छ।
उत्पादन भएको २० प्रतिशत माउन्टेनियरिङलाई नै लक्ष्य गरिएको छ। ८० प्रतिशत भने ट्र्ेकिङलगायत अन्य क्षेत्र जाँदा लाउन मिल्ने खालका लुगा छन्।
छोटो समयमै सामानको माग ह्वात्तै बढेका कारण कम्पनीले अहिले आफ्नो क्षमता विस्तार गरिरहेको उनको भनाइ छ। जति धेरै माग, त्यति नै उत्पादन बढाइरहेको उनी बताउँछिन्।
सुरुमा लुक्लामा मात्र स्टोर राख्ने र खुम्बु क्षेत्रका बासिन्दासँगै त्यहाँ आउने पाहुना लक्ष्य गरिएको थियो। काठमाडौंमा भने कोभिडका बीचमा आफ्नै घरबाट अनलाइनमार्फत बिक्री सुरु गरिएको थियो।
विदेशी ब्रान्डका दबदबाबीच जन्मिएको लुक्ला आउटडोर बजारमा भर्खरै आएकाले विदेशी ब्रान्डसँग त्यतिविधि प्रतिस्पर्धा गर्नुपरेको छैन। अहिले जति उत्पादन भएको छ, जतिले प्रयोग गरेका छन्, सबैको प्रतिक्रिया राम्रो भएकाले पनि नेपाली बजारमा यसले राम्रो प्रभाव जमाउनेमा चारै दिदीबहिनी ढुक्क छन्।
बजार प्रतिस्पर्धी बनाउन उनीहरूले सस्तोमा गुणस्तरहीन सामान बेच्ने सोच भने बनाएका छैनन्। माउन्टेनियरिङ र ट्रेकिङ जानेको जीवनसँग जोडिएकाले गुणस्तरीय कपडा उचित मूल्यमा बिक्री गरिरहेका छन्।
गुणस्तरीय उत्पादनलाई राम्रो मूल्य दिन चाहने कमै मात्रामा हुन्छन्। अहिले बजारमा पाइने नक्कली ब्रान्डका पछि लागेर नेपालीहरू सस्तो कपडाका नाममा ठगिनुपरेको छ। लुक्ला आउटडोर आउने ग्राहकले भने त्यस्ता समस्याबाट मुक्त हुने गरी रोजेको र खोजेको कपडा पाउन सक्छन्।
उनीहरूको पृष्ठभूमि नै पर्यटन क्षेत्र भएकाले उत्पादित कपडा बिक्री गर्न त्यति समस्या झेल्नु परेको छैन। गुणस्तरीय सामान उत्पादन भएकाले पनि छोटो समयमा सबैको रोजाइमा पर्न गएको उनीहरूको दाबी छ।
पहिलादेखि नै त्यस क्षेत्रका स्थानीय ट्रेकर्स, माउन्टेनियरिङ, ट्रेकिङ कम्पनी सञ्चालन गरिरहेको पारिवारिक पृष्ठभूमि भएका कारण पनि त्यहाँ आवश्यक कपडा कस्ता–कस्ता हुन् र कुन गुणस्तरको चाहिन्छ भन्ने सुझाव लिएर काम गरेकाले पनि बजारमा प्रतिस्पर्धा गर्नका लागि सहज भएको उनको भनाइ छ।
बजार विस्तारमा पनि त्यही कारण सहज भएको हो। शेर्पा समुदाय अधिकांश पर्यटन क्षेत्रमा सक्रिय भएको र उनीहरूले नै लुक्ला आउटडोरका उत्पादन प्रयोग गरिदिएकाले पनि प्रचारप्रसारमा धेरै सहयोग पुगेको निष्कर्ष उनीहरूको छ।
सुरुवातदेखि अहिलेसम्म शेर्पा समुदायको साथ र सहयोग राम्रो छ। उहाँहरूले नै दिएको सुझाव र प्रतिक्रियाले ब्रान्ड अझ राम्रो बनाउन प्रेरणा मिलिरहेको छ।
आफ्नो उत्पादन प्रयोग गरेर छेची आफैं हिमाल आरोहण तयारीमा जुटेकी छिन्। अरूले भनेको भन्दा आफैं अनुभव गर्ने गरी लुक्ला आउटडोरको उत्पादन प्रयोग गरेर यो वर्ष सानो हिमाल आरोहण गर्न लागिएको जानकारी दिइन्। यसबाट उपभोक्ताप्रति झनै विश्वास बढ्ने उनको भनाइ छ।
अहिले लुक्ला आउटडोरलाई धेरै ठाउँमा विस्तार गर्नेभन्दा उत्पादन गुणस्तरीय बनाएर आफूहरूको ‘बेस’ बलियो बनाएरमात्र अन्य स्टोर खोल्ने सोच बनाएका छन्। अहिले पनि उनीहरूसँग ‘फ्र्यान्चाइजी’ देखि उत्पादन माग्नेको संख्या धेरै छ। जग बलियो बनाउन उत्पादनमा ध्यान दिइरहेकाले त्यसपछि मात्र स्टोर विस्तार लाग्ने योजना उनीहरूले बुनिरहेका छन्।
अहिलेसम्म उनीहरूले आफ्नो उत्पादन बजारीकरणसमेत गरेका छैनन्। तर, धेरै ठाउँको माग भएकाले अब उत्पादन बढाएर फ्र्यान्चाइजीका रूपमा दिने र बजारीकरण गर्दै जाने सोच बनाएका छन्।
वैद्यज अर्गनाइजेसनको लगानी
लुक्ला आउटडोरमा वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एन्ड ट्रेडिङ हाउस (भ्वाइइथ) ले सहकार्य गरेको छ। भेन्चर क्यापिटलका रूपमा वैद्यजले लगानी विस्तार गर्ने गरी दुई पक्षीय सम्झौतासमेत भइसकेको छ।
पर्यटक र हिमाली क्षेत्रमा लगाउने कपडा जस्तै, डाउन ज्याकेट, क्याप, टिसर्ट, सर्ट, ट्रेकिङ वा हिमाल चढ्दा चाहिने सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आटउटडोरमा वैद्यजले लगानी गर्ने भएको हो।
५५ वर्षदेखि विभिन्न क्षेत्रमा कारोबार गर्दै आएको बैद्यज अर्गनाइजेसनको सहकार्यपछि लुक्ला आउटडोरको उत्पादन झनै वृहत हुने अपेक्षा निर्देशक सूर्यान्श वैद्यले दुई पक्षीय सहकार्यसँगै कम्पनीको कपडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ हुने अपेक्षा गरेका छन्। विशेषगरी ट्रेकिङ, पर्वतारोहण र आउटडोर एडभेन्चर क्षेत्रमा विभिन्न प्रकारका कपडा उत्पादन गर्दै आएको कम्पनीले अझै बजारलाई वृहत बनाउने योजना बनाएको उनले बताए।
विदेश निर्यातसहित लक्ष्य राखेको आउटडोरले आउँदो अगस्टदेखि ठमेलमा नयाँ स्टोर सञ्चालनमा ल्याउने भएको छ। कफी सपसहित स्टोर सञ्चालन हुने आउटडोरका प्रमुख कार्यकारी अधिकृत छेची शेर्पाले जानकारी दिइन्। स्टोरमा आउने ग्राहकलाई क्याफेमा राखेर हिमाल र आफ्ना उत्पादनबारे समेत जानकारी गराउने उनले बताइन्।
अहिले विदेशबाट समेत धेरै माग आइरहेको उनले बताइन्। अगस्टबाटै आउटडोरले अनलाइन सपिङका लागि छुट्टै वेबसाइट समेत सार्वजनिक गर्ने योजना बनाएको छ। अनलाइनमार्फत नै बुकिङ र पेमेन्ट गर्नसमेत सहज हुने गरी अनलाइन प्लेटफर्म सार्वजनिक हुने उनले बताइन्।
अनलाइन होमडेलिभरी
लुक्ला आउटडोरका कपडा लगाउन चाहनेलाई अहिले दुई स्टोरमात्र सञ्चालनमा छन्। लुक्ला र मण्डिखाटारको बिगमार्ट नजिकै घरमा सञ्चालित स्टोर गएर चाहेका कपडा लिन सकिन्छ। यस्तै थोरै मात्रामा भने अनलाइनमार्फत काठमाडौं उपत्यकाभित्र ‘डेलिभरी’ हुँदै आएको छ। तर, यो प्रकारका कपडा अनलाइनमा हेरेको भरमा भन्दा आफैंले लगाएर, त्यसको अनुभव लिएरमात्र किन्न राम्रो हुने सुझाव उनीहरूको छ।
सकेसम्म भौतिक उपस्थित भएर सामान गरिद गर्न अनुरोध गरिँदै आए पनि क्याप, टिसर्ट भने अनलाइनमार्फत बिक्री गरिरहेको छेची बताउँछिन्।
पहिलोपटक ट्रेकिङ तथा माउन्टेनियरिङ जानेलाई कस्ता–कस्ता लुगा लगाउने भन्ने थाहा नहुनेलाई परामर्शसहित सुविधा त्यहाँबाट दिने गरिएको छ।
२५ हजारसम्मको ज्याकेट
हुन त विदेशी ब्रान्डको दबदबाबीच नेपाली उत्पादन महँगो हुने गरेका आरोप पनि लाग्ने गरेको छ। झन्, लुक्ला आउटडोरका हरेका उत्पादन माउन्टेनियरिङ र ट्रेकिङ क्षेत्र लक्ष्य गरिएको छ।
त्यसैले पनि गुणस्तरसँगै महाँगोका प्रश्न पनि तेर्सिन थालेका छन्। यो प्रश्नप्रति लुक्ला आउटडोरका सञ्चालकहरू सचेत छन्। त्यही भएर उनीहरूले गुणस्तरमा कुनै सम्झौता नगरी समयसापेक्ष मूल्य राखेका छन्।
माइनस २० डिग्री सेल्सियससम्मको तापक्रम धान्ने अन्य ब्रान्डका ज्याकेट ६० देखि ७० हजार रुपैयाँसम्म पर्छ। तर, त्यही गुणस्तरको ज्याकेट लुक्ला आउटडोरमा २५ हजार रुपैयाँमै किन्न पाइन्छ। यति सस्तो हुनुमा भने कम्पनीले ब्रान्डिङमा अरुले जसरी धेरै खर्च नगरेकाले सहज भएको जवाफ उनीहरूले दिँदै आएका छन्। अहिले उत्पादन गरेर एकैचोटि स्टोर पठाउने गरिएको र ब्रान्डिङका लागि खर्च नगरेकाले सस्तोमा गुणस्तरीय सामान दिन सम्भव भएको उनीहरूको दाबी छ।
अहिले लुक्ला आउटडोरमा तेस्रो चरणको लगानी भइरहेको छ। सुरुवाती लगानी भने २० लाख थियो। अहिले भने त्यसको क्षमता बढाउँदै आएको छ। ११ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। कालिगड भने आउटसोर्सका रूपमा लिँदै आएका छन्।
दक्ष जनशक्ति पाउन भने यो क्षेत्रका लागि धेरै नै समस्या छ। पर्यटन क्षेत्रमा भने मिलेर काम गरेपछि धेरै ‘आइडिया’ पनि आउने र जोखिम पनि कम हुने भएकाले काम गरेको हो।
लुक्ला आउटडोरमा न्यूनतम १ हजारदेखि २५ हजार रुपैयाँसम्मका कपडा पाइन्छन्। सर्वोच्च शिखर सगरमाथाको पहिलो शिविर (क्याम्प १) सम्म जानका लागि लगाउन सकिन्छ। निकट भविष्यमा सगरमाथा आरोहणमा जान प्रयोग हुने कपडासमेत उत्पादन लागि अध्ययन गरिरहेका छन्।