काठमाडौं। धादिङको रुबी भ्याली। प्राकृतिक सुन्दरताले भरिएको उपत्यकालाई केन्द्रित गरी क्यामेरामा कैद हुँदाको दृश्यले जोकोहीको पनि मन लोभ्याउँछ। हिमाल छर्लङ देखिने दृश्यसँगै भेडीगोठमा भेडा चराउँदा चराउँदै फर्किएका दयाहाङ राई (चेञ्जाराेङ) र शान्ति तामाङ (स्यारल्ह्यामाे) को प्रेमलाई विवाहमा परिणत गरेर फिल्मको कथा अगाडि बढेको पाइन्छ।
शान्तिलाई माग्न अरू केटा धेरै आउँदा पनि आफूले नमानेको र दयालाई नै घरमा माग्न आउन प्रस्ताव गरिएको दृश्य रोमाञ्चक छ। फिल्मको सुरुवातदेखि नै तामाङ भाषा र भेषभूषालाई केन्द्रिकृत बनाएको पाइन्छ। जसका कारण तामाङ समुदायलाई भाषा बुझ्न सहज भए पनि अन्य भाषीलाई स्क्रिनमा देखाइएका शब्दको सहारा लिनुपर्ने बाध्यता छ। तथापि, फिल्मका दृश्यले स्क्रिनमा देखाइएको शब्दसँगै पढेर बुझ्न धेरै समस्या हुने देखिँदैन।
फिल्मको सुरुवातमा १५ देखि २५ मिनेटसम्म दर्शकलाई केही नपुगेजस्तो र दुई व्यक्तिबीच मात्र केन्द्रित हुँदा केही 'बोर' लाग्न सक्छ। दयाले कमै मात्रामा संवाद गरेको र शान्तिले मात्र एकोहोरो धेरै संवाद गरिरहँदा फिल्मप्रति आममानिसलाई यसपछि पनि यस्तो होला कि भन्ने प्रश्न उब्जिन सक्छ।
जब, भेडीगोठ र घोडा बेचेर दया घरमा फर्किन्छन्, त्यसपछि भने कथाले रफ्तार लिएको पाइन्छ। श्रीमती र छोरीलाई खुसी बनाउन मासु लिएर आए पनि श्रीमतीले विदेश जान दबाब दिने तर दया भने आफ्नै चिया पसल गरेर छोरीलाई राम्रो स्कुलमा पढाउने चाहना व्यक्त गर्दा दुईबीच हुने मनमुटावले एउटा गरिब परिवारको दृश्य झल्काएको देखिन्छ। पछिल्लो समय आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन सहर पस्ने र छरछिमेकीले सहरमा घर बनाएर सुखसयलमा बसेको देखेपछि आफ्नो परिवारको चाहना पनि त्यही किसिमको भएको भाव फिल्ममा देख्न पाइन्छ।
श्रीमतीलाई फकाउन र सम्झाउन अनेकौं बहाना गर्दा पनि नमानेपछि दयाले अन्ततः विदेश जाने निधो गर्छन् र मलेसिया जाने भन्दै काठमाडौं हिडेको देखिन्छ। स्याफ्रुबेसी बजारमा छोरी पढाउने र आफू विदेश गएर पैसा कमाउन दया हिँडेपछि शान्ति र उनकी छोरी जिग्मे घिसिङलाई केन्द्रमा राखिएको छ। विदेश जान बजारसम्म पुग्दा दयालाई बिदाइ गर्दा शान्तिको रोदनले धेरैको आँखा रसाउँछ। दयाले शान्ति रोएको देखेपछि पहिला जा-जा भन्ने अहिले जान लाग्दा रुँदा 'तिमीलाई लाज लाग्दैन' भन्ने संवादले आँखा रसाएका दर्शकले केही मात्रामा खित्का छाडेर हास्ने ठाउँ मिलेको देखिन्छ।
जब, दया विदेश जान काठमाडौं लाग्छन् र त्यसको केही दिनपछि गाउँमा ठूलो भूकम्प आउँछ। भूकम्प आउनु अघिसम्म घर नजिकै सार्वजनिक भवन निर्माणमा जुटिरहेकी शान्तिलाई तिर्खा लाग्छ र छोरीलाई पानी ल्याउन आग्रह गर्छिन्। खेलिरहेकी छोरी पानी लिन घरभित्र पस्नै लाग्दा एक्कासि भूकम्प आउँछ। सबैजना आत्तिएर भागदौड गरिरहँदा जिग्मे (छोरी) कता जाने भनेर अन्यौल हुँदै आत्तिएको पाइन्छ। आमा शान्तिले छोरीलाई बोलाइरहेको पाइन्छ। तर, छोरी जिग्मे बाहिर भाग्नुको सट्टा घरभित्र लुक्न पुग्छिन्। उनी पुग्नेबित्तिकै घर भत्किन्छ। यो दृश्यले नेपाली पाठ्यक्रममा भूकम्प गएको बेला खाटमुनि वा घरको पिलरमुनि लुक्नुपर्छ भन्ने गलत सन्देशले धेरैको ज्यान गएको घटनालाई दर्शाउन खोजिएको पाइन्छ। २०७२ सालको भूकम्पमा धेरै नेपालीले घरभित्र लुक्न जाँदा आफ्नो ज्यान गुमाएका थिए।
भूकम्पले घर पुरिएपछि छोरी जिग्मेलाई उपचारका लागि नेपाली सेनाले काठमाडौं लगेको खबर शान्तिले पाउँछिन्। तर, यो बेला सेनाले कसरी उद्धार गरेको थियो भन्ने दृश्य भने राखिएको पाइँदैन। शान्तिको होस् खुलेपछि आफ्नी छोरी कहाँ गइन् भन्दा उनका देवरले काठमाडौंमा उपचार गर्न लगेको र निःशुल्क उपचार हुने भएकाले आत्तिनुपर्दैन भनेर सम्झाएको पाइन्छ।
भूकम्प गएको तीन/चार दिनपछि दयाले विदेशबाट फोन गर्छन् र फोनमा छोरीलाई उपचारका लागि काठमाडौंमा लगेको जानकारी शान्तिले दिन्छिन्। जब, शान्तिले छोरीलाई एक्लै काठमाडौं लगेको जानकारी दिनासाथ दयाले उताबाट गाली गर्दै छोरी भएको ठाउँमा जान निर्देशन दिन्छन्। फिल्ममा दया काठमाडौं गए पनि विदेशमा कसरी गए भन्ने दृश्य भने देखाएको पाइँदैन।
भूकम्पले छोरी नै बेपत्ता भएपछि दया र शान्तिको छोरीलाई राम्रो बोर्डिङ स्कुलमा पढाउने सपना अधुरै रहन्छ। यो सपना दया र शान्तिको मात्र हाेइन, आमनेपालीको हो भन्ने सन्देश फिल्मले दिन खोजेको छ।
जब काठमाडौं जान स्याफ्रुबेसी पुग्छन्, त्यो बेला भूकम्पका कारण बाटो भत्किएर गाडी नआएको पीडा झल्किन्छ। त्यो बेला महिनौंसम्म भूकम्पले भत्काएको बाटो नबन्दा धेरैले दुःख पाएको घटनालाई फिल्ममा देखाइएको छ।
त्यतिमात्र हाेइन, एउटी नारीलाई गाडीमा यात्रा गर्दा अरूले हेर्ने दृष्टि पनि फिल्ममा देख्न पाइन्छ। गाउँबाट सहर पुगे पनि आफ्नो भाषिक समस्याले कस्ता–कस्ता दुःख पाइन्छ भन्ने पीडा देखाइएको छ। काठमाडौंमा आफ्नी छोरीको खोजीमा विभिन्न क्याम्प (भूकम्प पीडित राखेको ठाउँ) पुग्दा नभेटेपछि शान्ति झनै आत्तिन्छिन्। उता, छोरीले पनि नेपाली भाषा बोल्न नसक्ने र तामाङ भाषा अरूले नबुझ्दा आफ्नो गाउँको नामसमेत राम्रोसँग भन्न नसक्दा पाएको दु:खले धेरैको मनमा चस्का पस्छ। उपचारपछि बालगृह राख्दा बालगृहकै मिलेमतोमा बेचबिखनको समेत चलखेल भएको पाइन्छ। नेताले सहयोगका नाममा प्रचारप्रसार गरे पनि कार्यान्वयन तहमा भने अर्कै दृश्य देखाइरहँदा नेपाली राजनीति र त्यहाँका नेता कता जाँदैछन् भन्ने प्रष्ट पार्न खोजिएको छ।
भूकम्पका बेला धेरै बालबालिका हराएको समचार सार्वजनिक भएको सत्यकथालाई पनि फिल्ममा देखाउन खोजिएको छ। शान्तिले भाषा नजानेकै कारण सिंहदरबारभित्र रहेको महिला तथा बालबालिका मन्त्रालयसम्म जान नपाएको र गेटमा बस्ने सुरक्षाकर्मीले गाउँबाट आउनेलाई गर्ने व्यवहार जस्ताको त्यस्तै उतारिएको छ। जहाँ अहिले पनि सर्वसाधारणले सहजरूपमा सिंहदरबार प्रवेश गर्न पाउँदैनन्। सिंहदरबारप्रतिको आक्रोशले केही विद्रोहको भाव फिल्ममा देख्न पाइन्छ। खासगरी नेपाली भाषीबाहेक अन्य भाषामात्र बोल्नेले भोग्नुपरेको पीडा त्यहाँ देख्न पाइन्छ। फिल्ममा तामाङ भाषीलाई केन्द्रित गरे पनि यो समस्या आमआदिवासी जनजातिको हो भन्दा फरक पर्दैन्।
भूकम्पले घर भत्किएपछि आवास गृह र बालगृहबाट बालबालिकालाई कसरी बेचबिखन भएको थियो भन्ने झल्को फिल्ममा देख्न पाइन्छ। रेस्टुरेन्टमा काम गर्दा महिलालाई कसरी दुरुपयोग गरिन्छ भन्ने दृश्य शान्तिले छोरीको खोजीका लागि काठमाडौंमा बस्दा काम गर्न रेस्टुरेन्टमा पसेको दृश्यले झल्काएको छ। त्यतिमात्र हाेइन, कुनै सहयोग गर्दा महिलाबाट एक पुरुषले फाइदा लिन खोज्छन् भन्ने कथा फिल्ममा राखिएको छ।
छोरी खोज्दाखोज्दै थाकेकी शान्ति अन्ततः होस गुमाउन पुग्छिन् र उनलाई सुधारगृहमा राखिन्छ। त्यतिकैमा दया विदेशबाट नेपाल आएको दृश्य देखिन्छ। विमानस्थल आएपछि उनले शान्ति र छोरी खोज्न काठमाडौंमा आएको र हालसम्म नभेटेको कुरा थाहा पाउँछन्। र, दया छोरीको खोजीमा लाग्छन्। त्यही बेला फोटो पत्रकारका रूपमा बुद्धि तामाङ (हैट) लाई भेट्छन्। बुद्धिले दयालाई ढाडस दिँदै छोरी भेटिने आश्वासन दिन्छन् र दुवैजना खोजीमा लाग्छन्।
शान्तिले लाख कोसिस गर्दा नभेटेको छोरी दयाले फेला पार्छन्। जादु देखाउँदै बालबालिकालाई बेहोस् बनाउँदै विदेशमा बेच्न पठाउनै लाग्दा दयाले फेला पार्छन्। छोरी फेला परेपछि भने दयाले आफ्नो श्रीमतीलाई खोजी गर्दैनन् र आफ्नो गाउँ फर्किन्छन्।
फिल्म सुरु हुँदा जसरी रोमान्टिक दृश्यबाट सुरु गरिएको थियो अन्त्य भने वियोगान्त भएको छ। दर्शकको अपेक्षा भने दयाले छोरी भेटेपछि आमालाई पनि खोज्छन् होला भन्दाभन्दै फिल्म सकिएपछि निराश हुन्छन्। स्वाभाविक पनि हो, फिल्ममा सबैको मिलन होस् भन्ने चाहना राख्नु। हिन्दी फिल्ममा जस्तै फिल्मको अन्त्य पनि सबैको मिलन वा को कहाँ के गर्दैछन् भन्ने समेतको दृश्य देखाएको भए राम्रो हुन्थ्यो भन्ने अपेक्षा राख्ने धेरै हुन्छन्। यो चाहना नीरफूलमा मात्र हाेइन, अधिकांश फिल्ममा दर्शकले राख्ने चाहना हो।
आफ्नो संस्कार, भाषा, धर्म भेषभूषालाई जस्तोसुकै परिस्थितिमा पनि संरक्षण गर्नु, गुमाउनु ,माया गर्नु लेखकको न्यायिक पक्ष हो भन्ने मेरो ठम्याइ रह्यो। चलचित्रको प्रमुख पात्र नायक दयाहाङ राई बजारी क्षेत्रमा नयाँ घर र छोरीलाई बोर्डिङ स्कुल पढाउने ठूलो सपना बोकेर विदेश जानुपर्ने बाध्यताले नेपाली समाजको चित्रण गरेको छ।
समग्रमा हेर्दा फिल्म उत्कृष्ट हुँदाहुँदै पटकथा र पात्र छनौटमा भने चुकेको देखिन्छ। झाँक्रीका रूपमा प्रस्तुत भएका कलाकार प्रेम लोप्चन र शान्तिका देवरले बोल्ने डाइलग केही असहज देखिन्छ। अहिले त थिएटरका कलाकारको बाहुल्य रहेको नेपाली फिल्ममा नीरफूलका केही पात्रले गरेको नाटकलाई दर्शकले धेरै रुचाएको पाइँदैन। जसरी कबड्डीमा झाँक्रीले खेलेको भूमिका अर्गानिक छ, त्यो नीरफूलको झाँक्रीमा देखिँदैन। फिल्म दया, शान्ति र जिग्मेको वरिपरि घुमिरहेका बेला बुद्धिको प्रवेशले दर्शक हौसिएको पाइन्छ। अर्थात, फिल्मको समय अवधिभरि दया र बुद्धिकै कारण दर्शक टिकेको हो भन्दा फरक पर्दैन। यतिभन्दा शान्तिले खेलेको भूमिका पनि प्रशंसायोग्य नै छ। मात्र, भाषिक शब्द प्रयोग गर्दा कताकता असहज भएको हो कि भन्ने भान हुन्छ।
सबै पक्ष हेर्दा विषयवस्तुलाई अत्यन्तै सूक्ष्म ढंगले गम्भीरतापूर्वक उठान गर्न लेखक तथा निर्देशक फूलमान वल सफल भएको देखिन्छ। भौतिक द्वन्द्वभन्दा पनि बौद्धिक द्वन्द्व र समाजमा देखापरेका विभेद र असमानता टपक्क टिपेर लेखकले मुख्य विषयवस्तु बनाएको जस्तो देखिन्छ।
नीरफूल फूलमध्ये एक रङको फूल हो जुन फूलको संज्ञा तामाङ समुदाय अर्थात राज्यबाट पिछडिएको वर्गलाई देखाइएको छ। सरल भाषा शैलीमा प्रस्तुत गरिएको यो चलचित्र एक वर्गसंघर्षको चिनारी पनि हो भन्न सकिन्छ। प्रस्तुतिकरण शैली अति सरल छ।
फिल्ममा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, अभिनेत्री रेखा थापा र शान्ति वाइवालाई मुख्य भूमिकामा देख्न सकिन्छ। रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा पुष्कर गुरुङ, जिग्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानसराज र रोशन फ्युवाको विशेष भूमिका छ।
फिल्ममा गीत र कथा निर्देशन फूलमान वलकै छ भने संवादमा निर्देशक वललाई सचिन घिमिरेले सघाएका छन्। चन्द्रकुमार दोङ र अर्जुन पोखरेलको संगीत, कुमार महर्जनको द्वन्द रहेकाे चलचित्रका कार्यकारी निर्माता डोमा सोनाम छन्। सहनिर्माता नेपाल म्यानमार फ्रेन्डसिप काउन्सिल र सेलो प्रडक्सन रहेको नीरफूलको निर्मातामा माया केसी, चन्द्रमाया तामाङ, दीपक श्रेष्ठ, उदय लामा, दिनेश लम्तरी मगरलगायत छन्।