एजेन्सी। आगामी पाँच वर्षमा भारत संसारकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार सन् २०२८ सम्ममा भारतले तेस्रो स्थानमा रहेको जापानलाई प्रतिस्थापन गरी तेस्रो ठूलो अर्थतन्त्र बन्ने छ।
त्यसबेला भारतको अर्थतन्त्रको आकार बढेर ५५ खर्ब (५.५ ट्रिलियन) डलर पुग्ने प्रक्षेपण आइएमएफको छ। अहिले भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र हो।
अहिले भारतले बेलायतलाई पछि पार्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ। भारतको अर्थतन्त्रको आकार ३४ खर्ब ६८ अर्ब (३.४६ ट्रिलियन) डलर छ। पाँच वर्षमा भारतको अर्थतन्त्र २० खर्ब डलर बढ्ने अनुमान गरिएको छ।
भारतले आउँदो २०२७ सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने महत्वकांक्षी योजना सार्वजनिक गरिसकेको छ।
सोहीअनुसार आइएमएफले उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। त्यसबेला चौथो स्थानमा हुने जापानको अर्थतन्त्रको आकार बढेर ५३ खर्ब (५.३ ट्रिलियन) डलर पुग्ने अनुमान आइएमएफको छ। अहिले जापानको अर्थतन्त्रको आकार ४३ खर्ब (४.३ ट्रिलियन) डलर छ। २०२८ मा १० खर्ब डलर बढ्ने प्रक्षेपण आइएमएफको छ।
पहिलो स्थानमा अमेरिका नै हुने आइएमएफको प्रक्षेपण छ। अमेरिकाको अर्थतन्त्र बढेर ३ सय २३ खर्ब (३२.३ ट्रिलियन) डलर पुग्ने छ। अहिले अमेरिकाको अर्थतन्त्रको आकार २ खर्ब २५ अर्ब (२५ ट्रिलियन) डलर छ। यसबीचमा अमेरिकाको अर्थतन्त्र ७० खर्ब डलर बढ्ने अनुमान आइएमएफको छ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र छिमेकी चीन नै हुने देखिएको छ। त्यसबेलासम्म चीनको अर्थतन्त्रको आकार बढेर २ सय ७४ खर्ब (२७.४ ट्रिलियन) डलर पुग्ने अनुमान छ। अहिले चीनको अर्थतन्त्रको आकार १ सय ८३ खर्ब २१ अर्ब (१८.३२ ट्रिलियन) डलर छ। यसबीचमा चीनको अर्थतन्त्र ९० खर्ब डलर बढ्ने अनुमान छ।
भारतको अर्थतन्त्रको आकार बढ्दै गएकाले यो अवस्थामा परिवर्तन आउन सक्ने विज्ञहरूको भनाइ छ।२००१ मा अर्थशास्त्रतर्फ नोबेल शान्ति पुरस्कारबाट सम्मानित माइकल स्पेन्सका अनुसार भारत आर्थिक ररूपमा झनै बलियो हुने समय आइसकेको छ।
अहिले विश्वअर्थतन्त्रको आकार १ हजार १६ खर्ब (१०१.६ ट्रिलियन) डलर छ। यो अर्थतन्त्रको आकार १ सय ९२ देशको हो। युक्रेन र अफगानिस्तान यसमा समावेश गरिएको छैन। अमेरिका, चीन, भारत र जापानलगायत सबै देशको बढ्दा विश्व जिडिपीको आकार अझै बढ्ने देखिन्छ।
आइएमएफका अनुसार अहिले चौथौ स्थानमा रहेको जर्मनी पाँचौं स्थानमा पुग्ने छ। जर्मनीको अर्थतन्त्र बढेर ५० खर्ब डलरको हुनेछ। अहिले जर्मनीको अर्थतन्त्रको आकार ४० खर्ब (४ ट्रिलियन) डलर छ। जर्मनीको अर्थतन्त्र १० खर्ब डलर बढ्ने अनुमान आइएमएफको छ।
यस्तै बेलायत छैंठौं स्थानमै रहने देखिएको छ। त्यसबेलासम्म बेलायतको अर्थतन्त्रको आकार बढेर ४२ खर्ब (४.२ ट्रिलियन) डलरको हुने अनुमान छ। अहिले बेलायतको अर्थतन्त्र ३१ खर्ब ९८ अर्ब (३.१९ ट्रिलियन) डलरको छ।
सातौं स्थानमा फ्रान्स हुने अनुमान छ। त्यसबेला फ्रान्सको अर्थतन्त्रको आकार बढेर ३३ खर्ब (३.३ ट्रिलियन) डलरको हुनेछ। आठौं स्थानमा उदीयमान देश ब्राजिल आउने सम्भावना देखिएको छ। ब्राजिलको अर्थतन्त्र बढेर २७ खर्ब (२.७ ट्रिलियन) डलरको हुनेछ।
नवौं स्थानमा क्यानडा हुने अनुमान आइएमएफको छ। क्यानाडाको अर्थतन्त्रको आकार २६ खर्ब (२.६ ट्रिलियन) डलरको हुनेछ। १०औं स्थानमा इटाली बन्ने छ। इटालीको अर्थतन्त्र २४ खर्ब (२.४ ट्रिलियन) डलरको हुने बताइएको छ।
११ औं स्थानमा रूस हुने अनुमान छ। रूसको अर्थतन्त्र २२ खर्ब डलर (२.२ ट्रिलियन) को हुनेछ। २०२८ सम्म दक्षिण कोरियाको अर्थतन्त्र २१ खर्ब (२.१ ट्रिलियन) र इन्डोनेसियाको २० खर्ब (२ ट्रिलियन) डलरको पुग्ने आइएमएफले जनाएको छ।
अष्ट्रेलिया र मेक्सिकोको पनि २० खर्ब डलर (२ ट्रिलियन) डलर पुग्ने अनुमान छ। स्पेन, टर्की, नेदरल्यान्ड, साउदी अरब, स्वीजरल्यान्ड, पोल्यान्ड, ताइवान र नाइजेरियाको अर्थतन्त्रको आकार बढेर १० खर्ब डलरमाथि पुग्ने अनुमान छ।
यसबीचमा थाइल्यान्ड, आयरल्यान्ड, बंगलादेश, भियतनाम, अर्जेन्टिनाको अर्थतन्त्र बढेर ७ खर्ब डलर पुग्ने छ। बंगलादेशको अर्थतन्त्रको आकार ४ खर्ब १६ अर्ब डलरको छ। पाँच वर्षमा अर्थतन्त्रको आकार झन्डै दोब्बर पुग्ने छ।
भारतलाई तेस्रो बन्न सहज छैन
भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न सहज नभएको अर्थशास्त्री बताउँछन्। ‘भारतले चीनलाई जित्ने छ,’ स्ट्यान्डफाेर्ड युनिभर्सिटीका डिन तथा प्राध्यापक स्पेन्सले भने, ‘चीनको आर्थिक वृद्धिदर मन्द हुनेछ, भारतको हुने छैन।’ यो वर्ष भारतको आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अनुमान छ।
यस्तै चीनको ५ प्रतिशतहारहारी हुने अनुमान गरिएको छ। यद्यपि, भारतले २०२७ सम्म जापानलाई पछि पार्दै विश्वकै तेस्रो ठूलो अर्थतन्त्र बन्ने योजना सार्वजनिक गरेको छ। तर, यो लक्ष्य पूरा गर्न उसका अगाडि धेरै चुनौती छन्।
‘चिनियाँ शैलीमा वृद्धि हासिल गर्न तुलनात्मकरूपमा सानो मध्यम वर्ग भएको भारतले शिक्षा, जीवनस्तर, लैङ्गिक समानता र आर्थिक सुधारका क्षेत्रमा लगानी बढाउनुपर्ने हुन्छ। अहिलेको अवस्थामा विश्वशक्ति बन्नु भनेको जनसंख्या र अर्थतन्त्रभन्दा अझ पर जानुपर्ने कुरा हो।´