काठमाडौं। वीरगन्जस्थित उद्योगका एक व्यवस्थापकले काठमाडौंमा रहेका आफ्ना उद्योगीलाई एकाबिहानै फोन गरेर सोधे, ‘सर, उद्योग बन्द गरौं?’
उद्योगीले व्यवस्थापकलाई सोधे, 'किन?'
'सर, विद्युत् प्राधिकरणले ‘लाइटिङ’ बिजुलीमात्रै चलाउन निर्देशन दिएको छ।'
भनाइकाे अर्थ हो बिजुली बाल्न पाइन्छ तर, उद्योग चलाउन पाइँदैन। यस्तो अवस्थामा डिजेल ल्याएर जेनेरेटर चलाएर औद्योगिक उत्पादनको लागत छोइनसक्नु हुन्छ।
विद्युत् प्राधिकरणबाट १० मेगावाट लोड स्वीकृत गराएको उक्त उद्योगले अहिले लाइटिङ बिजुलीमात्रै प्रयोग गर्न पाइरहेको अवस्था छ। यस्तो अवस्था वीरगन्जमा मात्रै होइन, औद्योगिक नगरी भैरहवा, विराटनगरलगायत देशभरिका उद्योगको हो।
उद्योगीका अनुसार प्राधिकरणले उद्योगमा राखिएको चिम बाल्न बिजुली दिएको छ। कतिपय ठाउँमा त धेरै एसीसमेत नचलाउन भनेको छ।
‘यस्तो अवस्थामा कसरी उत्पादन गरेर बजार पठाउनु?,’ वीरगन्जका ती उद्योगीले भने, ‘एकातिर लामो समयसम्मको आर्थिक मन्दी, बजारमा न्यून बिन्दुमा पुगेको मागको अवस्थाले उद्योगी मर वा गरको अवस्थामा पुगेका छन्, अर्कातिर प्राधिकरण बत्ती बाल्नमात्र बिजुली दिन्छ।’
अहिले डिजेलको मूल्य छोइनसक्नु छ। जेनेरेटबाट उत्पादन गर्नेबित्तिकै लागत उच्च हुन्छ। उसै पनि बजार मागमा कुनै सुधार भएको छैन। सञ्चालन खर्च उठाउन उद्योगीले अनेक उपाय लगाइरहेका बेला प्राधिकरणले विद्युत कटौती गरिदिएपछि उद्योग बन्दको अवस्थामा पुगेका छन्।
विद्युतका कारण विराटनगरस्थित रिलाइयन्स स्पिनिङ मिलको अवलोकनमा पुगेका सञ्चालक शशिकान्त अग्रवालले उद्योगमा बिजुलीको अवस्था भयावह भएको बताए।
‘प्राधिकरणले चलाउनु भनेको बिजुलीबाट एकैपटक १ सयवटा सिएफएल चिम बाल्दा सिस्टम डाउन हुने अवस्था छ,’ अग्रवालले भने, ‘हाम्रो उद्योगका कतिपय युनिट बन्द गर्नै नमिल्ने प्रकृतिका छन्। त्यस्ता युनिट बढी मूल्यमा डिजेल किनेर महँगो लागतमा सामान बनाइरहेका छौं। बाँकी बन्द गर्न मिल्ने युनिट बन्द गरेका छौं।’
प्राधिकरणले आफ्नो वित्तीय विवरण नाफा रहेको देखाउन दिउँसोमात्रै भारतबाट बिजुली किनेर ल्याउँदा समस्या उत्पन्न भएको उद्योगीको भनाइ छ। यदि प्राधिकरणले बिहान र रातिको समयमा पनि भारतबाट बिजुली किनेर ल्याउने हो भने उद्योगमा कुनै समस्या नहुने उद्योगी बताउँछन्।
दिउँसोको बिजुली भारतसँग किन्दा सस्तो पर्छ, त्यही भएर प्राधिकरणले चलाखीपूर्ण काम गरिरहेको हो। बिहान र बेलुका भारतबाट बिजुली किन्दा महँगो दर तिर्नुपर्ने भएपछि समस्या आएको हो।
एकातिर देशभरि गर्मी बढिरहेको छ। गर्मीका बेला बिजुली खपत अत्यधिक हुन्छ। यस्तो बेला प्राधिकरणले आफ्नो वित्तीय विवरण नोक्सान हुनसक्ने भन्दै सरकारी स्वामित्वको प्राधिकरणले समेत उद्योग बन्द गराउनेतर्फ अग्रसर भएको आरोप उद्योगीको छ।