काठमाडौं। तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ।
यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत र पहाडमा ७.५७ प्रतिशत पुगेको छ। त्यस्तै, तराई क्षेत्रमा ७.१५ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ।
वैशाख मसान्तसम्मको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको छ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक २६.६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.२७ प्रतिशतले बढेको छ।
गत वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ। उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ।