काठमाडौं। अर्थतन्त्रमा क्रमिक सुधार आएको छ। केन्द्रीय बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार अर्थतन्त्रको वाह्य क्षेत्र बलियो हुँदै गएको देखिएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत महिना वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको थियो भने वैशाखमा ७.४१ प्रतिशतमा झरेको छ। यसरी हेर्दा मूल्यवृद्धि सामान्य घटेको छ।
त्यसैगरी चैतमा आयात १८.१ प्रतिशत, निर्यात २६.३ प्रतिशत र कूल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको थियो भने वैशाखमा आयात १६.८ प्रतिशत, निर्यात २४.५ प्रतिशत र कूल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको देखिएको छ।
चैतमा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको थियो भने वैशाखमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशत र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ। चैतको तुलनामा वैशाखमा अमेरिकी डलर र नेपाली रुपैयाँ दुवैमा रेमिट्यान्स आप्रवाह घटेको हो।
चैतमा भुक्तानी सन्तुलन १ खर्ब ८० अर्ब १७ करोडले बचतमा थियो भने वैशाखमा आइपुग्दा २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा छ।
केन्द्रीय बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार वैशाखमा कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड पुगेको छ। गत महिना कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड थियो। वैशाखमा चैतको तुलनामा ३६ अर्ब रुपैयाँले भुक्तानी सन्तुलन बढेको हो।
गत चैतमा विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको थियो भने वैशाखमा ६.९ प्रतिशतले बढेको हो। यसको अर्थ बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको देखिन्छ।
वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेकोमा वैशाखमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको हो।
चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको थियो भने वैशाखमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ। तथ्यांक हेर्दा वैशाखको तुलनामा चैतमा कर्जा प्रवाह र निक्षेप दुवै बढेको देखिन्छ।