काठमाडौं। सरकारले ५० देखि १ सय किलोवाटका विद्युतीय गाडी (इभी) को भन्सार वृद्धि र अन्तःशुल्क लगाएपछि आयातकर्ताले धमाधम गाडीको नयाँ मूल्य सार्वजनिक गर्न थालेका छन्।
केही दिनअघि मात्रै ‘निटा भी’ ले १ लाख रुपैयाँ मूल्य बढाएर नयाँ मूल्य सार्वजनिक गरिसकेको छ। जबकि, सरकारले ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाएको थियो। २० प्रतिशत मूल्यवृद्धि हुनुपर्नेमा निटाले बजारमा आफ्नो उपस्थिति थप सशक्त बनाउन थोरैमात्र मूल्य बढाएको हो।
बजेट आउनुअघि निटा भीको मूल्य ३८ लाख थियो। अब ३९ लाख रुपैयाँ पुगेको छ।
निटाको मूल्य सार्वजनिक भएपछि ‘एमजी’ पनि थप दबाबमा परेको छ। हाल एमजीसँग ४९ लाख ५० हजार र ५२ लाख ५० हजारका गाडी बजारमा छन्। यो मूल्य नयाँ बजेट आउनुअघिको हो।
एमजीले पनि ग्राहकलाई चक्मा दिने गरी मूल्य निर्धारण गरेर गाडी ल्याउँदै छ। सर्सर्ती हेर्दा गाडीको मूल्य २० प्रतिशत बढ्नुपर्ने हुन्छ। तर, उत्पादकले आफ्नो ‘मार्जिन’ केही ‘कम्प्रमाइज’ गर्ने र आयातकर्ताले पनि मार्जिन घटाएर नयाँ गाडीको मूल्य सार्वजनिक गर्ने तरखरमा एमजी छ।
झन निटा भीले गाडीको मूल्य १ लाख रुपैयाँ बढाएर सार्वजनिक गरेपछि अन्य आयातकर्तामाथि ठूलो दबाब परेको छ। यो हिसाबले गर्दा एमजीले पनि मूल्यमा ठूलो प्रतिस्पर्धा गर्ने सम्भावना छ।
त्यसैगरी एमजीको मूल्य हेरेर सिप्रदी र बिवाइडीले नयाँ मूल्य सार्वजनिक गर्ने तयारीमा छन्। एमजीको मूल्यमाथि दुई ब्रान्ड निर्भर छन्। एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अप्रत्यासित मूल्य सार्वजनिक गरिदियो भने बिवाइडी र सिप्रदीको ‘नेक्सन’ लाई ठूलो असर गर्ने भएपछि उनीहरू एमजीको मूल्य कुरिरहेका छन्।
एकातिर निटाले आफ्नो मार्जिन घटाएर उपभोक्तालाई राहत दिन खोजेको देखिन्छ। अर्कातिर, एमजीले पनि नसोचेको मूल्य सार्वजनिक गरिदिएको अवस्थामा बिवाइडी र नेक्सनको बजारलाई नराम्रो धक्का लाग्छ।
सरकारले शून्यदेखि ५० किलोवाटसम्मका गाडीमा अन्तःशुल्क लिँदैन। भन्सार १० प्रतिशत बनाएको छ। त्यसैगरी ५१ देखि १ सय किलोवाटसम्मका गाडीको भन्सार १५ प्रतिशत र अन्तःशुल्क १० प्रतिशत पु¥याएको छ। यसअघि भन्सार १० प्रतिशत थियो तर अन्तःशुल्क थिएन।
नेपालमा ५१ देखि १ सय किलोवाटभित्रका गाडीको बाहुल्य छ। अहिले आयातकर्ताबीच यही किलोवाटभित्रका गाडीबीच प्राइस वार चल्ने सम्भावना बढेको छ।