काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित उपन्यास ‘सेयरपुर’ सार्वजनिक गरिएको छ।
बिहीबार सेजनद्वारा आयोजित सेयरपुर पुस्तकमाथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यासको विमोचन गरिएको हो।
पुस्तकमाथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए। नेपालमा पुँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो।
उपन्यासमा रहेको पदम पात्रसँग सन्दर्भ जोड्दै हमालले आफू पनि नेपालमा विरक्त लागेर विदेश २० वर्ष बसेर पुनः नेपालमा आएको हमालले स्मरण गरे।
नेपालको सेयर बजार अझै सानो रहेको र पारदर्शी नभएको बताउँदै उनले पारदर्शी बनाउन प्रतिस्पर्धाको वातावरण तय गरिँदै लगेको बताए। हमालले क्षमता हुनेले व्यवसाय गर्न पाउने गरी वातावरण तय गरिएको दाबी गरे। नयाँ ब्रोकर लाइसेन्स दिनको लागि लाइसेन्स दिएको र यसले बजार विस्तार र सरकारको राजस्व वृद्धिमा सहयोग पुर्याएको उनको भनाइ थियो।
सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नुपर्ने बताए। पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाइ थियो। नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनुपर्ने उनको भनाइ थियो।
पुस्तकमाथि समालोचना गर्दै सेजन पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा उपन्यास लेखिएको बताए। पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता असफलता र पुन लगानी गर्ने हुटहुटी लगायतका विषयमा उपन्यासका पात्र रमेश र पदम लगायतबाट खुलाइएको उनको भनाइ थियो।
पुस्तक र लेखकका विषयमा सेजन पूर्वअध्यक्षहरू प्रदिप चापागाईं, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले आफ्नो धारणा राखेका थिए। सेजन अध्यक्ष जनार्दन बरालले लेखक सापकोटाले नेपाली पाठक र लगानीकर्तालाई पठनीय पुस्तक दिएको बताए।
उपन्यासका लेखक सापकोटाले पत्रकारले सेयर बजारमा लगानी गरे पनि सूचनाको गलत प्रयोग गर्नु नहुने बताए। हाल अमेरिकामासमेत सेयर लगानीकर्ता रहेका सापकोटाले गैर आवासीय नेपालीलाई सेयर बजार निश्चित क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा खुला गर्न आग्रह गरे।
सेयरपुर उपन्यासको मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ। उपन्यास ३९ अध्यायमा विभाजित रहेको छ।