काठमाडौं। पर्यटन व्यवसायीले सरकारले लगाएको भ्याट तत्कालै कार्यान्वयन गर्न नसकिने बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटमा पर्यटन क्षेत्रमा कर लगाउने विषय सार्वजनिक भएसगै पर्यटन सम्बन्ध संस्थाद्वारा संयुक्तरूपमा आयोजित पत्रकार सम्मेलनमा सरकारलाई तत्कालीन अवस्थामा भ्याट तिर्न सक्ने अवस्था नरहेको बताएका हुन।
भ्याट लगाउनै पर्ने अवस्था रहे पर्यटन व्यवसायी सहितको विज्ञ समूह गठन गरी गहन अध्ययन गरेर मात्र १ वर्ष पछि लागू हुने गरी कार्यान्वयन गर्न आग्रह गरेका हुन।
यो निर्णयले सरकारको योजनाअनुसार १० लाख पर्यटक भित्र्याउनै असम्भव रहने उनीहरूको भनाइ छ। यसैगरी सरकारले २० वर्ष पुगिसकेका सवारी साधन ३५ दिनभित्रै प्रतिस्थापन गर्न गाह्रो रहेको पनि उनीहरूले जनाएका छन्।
कार्यक्रममा पर्यटन तथा उड्डयन क्षेत्रका व्यवसायीले हवाई यात्रामा लगाइएको मूल्य अभिवृद्धि कर, पाच तारे होटलमा लगाइएको २ प्रतिशत विलाशीता कर, विदेशी पर्यटकका लागि ५ प्रतिशत पर्यटक शुल्कलगायतले नेपाल भ्रमण थप महंगो हुन जाने बताएका छन्।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एसोसिएसन नेपाल (हान), नेपाल पर्वतारोहण संघ (एनएमए), नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सी (नारा), हिमालयन उद्धार संघ (एचआरए) , आरोहण अपरेटर्स एसोसिएसन नेपाल, वायुसेवा सञ्चालक संघ , सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, गाउँ पर्यटन प्रवर्द्धन मञ्च , नेपाल पर्यटक यातायात व्यवसायी संघ , टुरिस्ट बस एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर (नाटाे), ठमेल पर्यटन विकास परिषद, कैलाश टुर अपरेटर्स एसोसिएसन अफ नेपाललगायत संस्थाले सरकारसमक्ष एकमुस्ट माग गरेका हुन् ।