काठमाडौं। मुलुकको रूपान्तरणकारी (गेमचेन्जर) १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत आयोजनामा लगानी जुटाउन सरकारले पहल थालेको छ। लगानी जुटाउन अर्थ मन्त्रालयले विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल थालेको हो।
४ अंक क्षमताको अर्धजलाशययुक्त आयोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जर्मनी विकास बैंक, तेल निर्यात मुलुकहरूको संगठन (ओपेक फण्ड) युरोपियन युनियन, युरोपियन लगानी बैंकलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल थालेको हो।
प्रस्तावित माथिल्लो अरुण आयोजना बनाउन २ खर्ब १४ अर्ब रुपैयाँ (१ अर्ब ८० करोड डलर) लाग्ने अनुमान गरिएको छ। त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना छ। यसमध्ये ९५ करोड डलर ( करिब १ खर्ब २५ अर्ब रुपैयाँ) ऋण लगानी जुटाइदिन दातृ निकायलाई आग्रह गरेको माथिल्लाे अरुण हाइड्रोइलेक्ट्रिसिटी कम्पनी लिमिटेड प्रबन्ध सञ्चालक फडिन्द्र जोशीले बताए। दातृ निकायबाट यति रकम जुटाएपछि आयोजना निर्माण हुने उनले जानकारी दिए।
दातृ निकायसँग भएको छलफल सकरात्मक रहेको उनले बताए। सन् २०२३ डिसेम्बरसम्म बैंकसँग ऋण लगानी सम्झौता गर्न दातृ निकायलाई जानकारी गराएको उनले बताए। विश्व बैंकले आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ। कूल ७५ करोड डलर सरकारले व्यवस्थापन गर्ने भएको छ। बाँकी २० करोड डलर कर्पोरेट ऋण लिने प्रबन्ध सञ्चालक जोशीले जानकारी दिए।
विश्व बैंकले ४५ करोडदेखि ५० करोड डलरसम्म (करिब ६५ अर्ब रुपैयाँ) सहुलियत ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ।
आयोजनाले निर्माणका लागि गर्नुपर्ने पूर्वतयारी जग्गा अधिग्रहण, रुख कटानलगायत धेरैजसो काम सम्पन्न भइसकेका छ। सन् २०२५ जुलाइबाट परियोजना निर्माणको काम सुरु गर्ने तयारी छ। विश्व बैंकले सन् २०२३ भित्र आयोजनाका लागि आवश्यक लगानी जुटाइसक्ने प्रतिबद्धता जनाइसकको छ। विश्व बैंकले अहिले आयोजनाको सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गरिरहेको छ।
यस्तै, सरकार स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को अगुवाइ (लिड) मा ५३ अर्ब रुपैयाँ लगानी जुट्दै छ। सात विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाइसकेका छन्।
एचआइडिसिएल लिडमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनएमबी बैंक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका हुन्। राष्ट्रिय वाणिज्य, नेपाल बैंक र नागरिक लगानीले ऋण लगानी सम्झौता गरिसकेका छन्। यस्तै ६४ अर्ब स्वपुँजी (इक्विटी) ९७ अर्ब रुपैयाँ लगानी हुनेछ।
आयोजनामा ऋण लगानीबारे गत भदौ ३० मा नै एचआइडिसिएल, नेपाल विद्युत प्राधिकरण र विकासकर्ता अपर अरुण हाइड्रोइलेक्ट्रिसिटी कम्पनी लिमिटेडबीच समझदारी (एमओयु) भएको थियो।
आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको सेयर र बाँकी ऋणबाट जुटाइने छ। करिब ३२ अर्ब रुपैयाँ सेयर निष्कासन गरेर लगानी जुटाइने भएको छ। विद्युत बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घन्टा पूर्णक्षमतामा चलाउन सकिने छ। लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने प्राधिकरणको योजना छ।
आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट बिजुली उत्पादन हुनेछ। प्राधिकरणले माथिल्लो अरुणकै अंग रहने गरी ३० मेगावाटको इखुवा आयोजना अगाडि बढाएको छ। यो वर्ष सबै अध्ययन सक्ने र सन् २०२३ भित्र ठेकेदारलाई निर्माणका लागि आयोजनास्थलमा परिचालन गरिसक्ने योजनासाथ काम भइरहेको छ।
आयोजना निर्माणको सुपरिवेक्षण गर्न परामर्शदाता नियुक्तिको तयारी भइरहेको प्रबन्ध सञ्चालक जोशीले सुनाए। आउँदो अक्टुबरभित्र छनौट हुने परामर्शदाताले काम सुरु गर्ने भएका छन्। परामर्शदाताले ठेक्काको डिजाइन र डकुमेन्ट काम सुरु गरेको ९ महिनाभित्र तयार पार्नुपर्ने छ। आयोजनाले २१ किलोमिटर लामो पहुँचमार्गको निर्माण गरिरहेको छ। आयोजना निर्माण २०३० भित्र सक्ने लक्ष्य राखिएको छ।
अरुण तेस्रो जलविद्युत आयोजनाबाट हात झिकेर फर्केको विश्व बैंक झन्डै तीन दशकपछि अरुण नदी करिडोरमा लगानी गर्न फर्किएको छ। बैंकले हात झिकेको अरुण तेस्रो अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगमले बनाइरहेको छ। ९ सय मेगावाटको अरुण तेस्रोको झण्डै ७० प्रतिशत काम सकिएको छ।
चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त आयोजना निर्माण सुरु गर्ने उल्लेख छ। छलफलमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङ्ग्जी चेनको पनि सहभागिता रहेको थियो। छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अरुण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेकोमा विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले लगानी हुन नसकेको बताएका छन्।
छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फन्ड, साउदी फन्डका प्रतिनिधिले माथिल्लो अरुण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताएका थिए।