काठमाडौं। नेपाल विद्युत प्राधिकरणले २०७९ जेठ १९ बाट भारतमा बिजुली निर्यात गरेको थियो। यो वर्ष जेठ २५ हुँदासम्म विद्युत प्राधिकरणले आन्तरिक माग पूरा गर्न भारतबाट ३ सय २८ मेगावाटसम्म बिजुली आयात गरिरहेको छ।
प्राधिकरणका अनुसार गत वर्ष जेठ १९ मा २४ मेगावाटको त्रिशूली र १५ मेगावाट देवीघाट विद्युतगृहको गरी कूल ३९ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरेको थियो। अघिल्लो वर्ष पनि भारतमा यी दुई आयोजनाबाट निर्यात सुरु भएको थियो।
पानी पर्न थालेपछि उत्पादनमा सुधार हुन गई गत साता विद्युत प्राधिकरणले रातिको समयमा १ सय मेगावाट बिजुली भारत निर्यात गरेको थियो। बर्खा नभएर खडेरी लागेपछि विद्युत उत्पादनमा सुधार आउन सकेन र लोडसेडिङ हटाउन भारतबाट बिजुली आयात भइरहेको छ।
गत जेठ यही समयमा बढी भएको बिजुली भारत निकासी भएकोमा यो वर्ष सुक्खाका कारण भारतबाट आयात भइरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउँछन्।
उनका अनुसार गत वर्ष जेठ १९ देखि बिजुली निर्यात सुरु भएको थियो। गत वर्ष वैशाखमै पानी पर्न थालेपछि नदीमा जलस्तर बढ्न थालेको थियो। जसका कारण बिजुली उत्पादन सुधार भई निर्यातको अवस्थामा पुगेको हो।
विद्युत प्राधिकरणका अनुसार बिजुली माग ‘पिक आवर’ मा १ हजार ९ सय १३ मेगावाट छ। गर्मीका कारण बिजुली माग बढेर १ हजार ९ सय ८१ मेगावाट पुगेको छ।
विद्युत प्राधिकरणका आयोजना, सहायक कम्पनी र निजी लगानीमा बनेका आयोजनाबाट गरी कूल १ हजार ५ सय ८५ मेगावाट बिजुली आपूर्ति भएको छ। यो वर्ष विद्युत प्राधिकरणले १ हजार २ सय मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता गरेको भारत भ्रमण क्रममा समकक्षी नरेन्द्र मोदीलाई बिजुली किन्न आग्रह गरेका छन्। यसमा भारतले सकारात्मक संकेत दिए पनि निष्कर्षमा पुगेको छैन।
यस्तै भारतले विभिन्न १० आयोजनाबाट ४ सय ५२ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाइसकेको छ। नदीमा जलस्तर कम भई उत्पादन घटेपछि गत पुस ३ देखि विद्युत प्राधिकरणले भारतबाट बिजुली आयात गर्न थालेको हो।
गत वर्ष प्राधिकरणले ११ अर्ब रुपैयाँबराबर बिजुली भारत निर्यात गरेको थियो। यो वर्ष निर्यात बढाएर दोब्बर आम्दानी गर्ने लक्ष्य प्राधिकरणको थियो। तर, सुक्खाका कारण प्राधिकरणको लक्ष्यमा अवरोध पुग्ने देखिएको छ।
गत चैतमा भएको विद्युत आदान–प्रदान समिति बैठकले आयात–निर्यात हुने बिजुली मूल्य प्रतियुनिट ७.२१ भारु (११.५३ रुपैयाँ) तय गरेको छ। अंग्रेजी आर्थिक वर्ष २०२२/२३ का लागि १३२ केभी प्रसारण लाइनमार्फत हुने विद्युत आदान–प्रदान दर तय गरेको थियो।