प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले हिजोआज अर्थतन्त्रले अप्ठेरा दिनहरूको सामना गरिरहेको बताएका छन्। प्रचण्डले बुटवलमा आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
‘यहाँहरूले निर्माण गरेका यस्ता आयोजनाले यहाँहरू जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि सफलतापूर्वक काम गर्न सक्नुहुन्छ भन्ने सन्देश देशव्यापी रूपमा नै राम्रैसँग प्रवाह भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको यस पर्यटकीय पूर्वाधारले यहाँको आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुग्न सकोस् भनी शुभकामना दिन चाहन्छु।’
गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्तो महत्वपूर्ण स्थानमा केवलकार तथा पाँचतारे होटलसहित अन्य पर्यटकीय संरचनाहरू निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने अपेक्षा गरेको उनको बताए।
‘नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरूको नेपाल बसाइ पनि लम्ब्याउन सकिन्छ,’ उनले भने।
लुम्बिनीको पर्यावरणीय महत्व कायमै राखेर यहाँका स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रममार्फत् स्थानीय तथा समग्र देशले नै समृद्धि हासिल गर्ने काममा लाग्ने विश्वास प्रधानमन्त्री दाहालको छ।
वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सँगै अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनालाई हर समय खुला राख्ने पक्षमा रहेको उनले बताए।
‘कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन मलाई लाग्छ एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘महामारीको मारमा परेका व्यवसायीलाई राहत दिनेगरी तथा शिथिल बन्न पुगेको मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको छ।’