काठमाडौंं। अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेलको कच्चापदार्थको भन्सार १० गुणासम्म वृद्धि गरेपछि त्यसको प्रभाव परेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत तोरीतेलको कच्चापदार्थ आयातमा ५ प्रतिशत, सनफ्लावर, भटमास तथा पामआयलकाे भन्सार १० प्रतिशत पुर्याएपछि खानेतेलको मूल्य लिटरमै ३० देखि ६० रुपैयाँसम्म वृद्धि भएको हो।
व्यवसायीका अनुसार बजेट अघिसम्म तोरीतेल प्रतिलिटर ३ सय ३० रुपैयाँ थियो। अहिले लिटरकाे ३ सय ८० रुपैयाँ पुगेको हो। सरकारले कच्चापदार्थको भन्सार ५ प्रतिशत बढाउँदा खानेतेलको मूल्य लिटरमै १० प्रतिशत बढेको हो।
सनफ्लावर, भटमास तथा पाम आयलको मूल्य पनि लिटरमै ६० रुपैयाँसम्म बढेको हो।
रूस-युक्रेन युद्धका कारण खानेतेलको मूल्य अचाक्ली आकासिएका बेला सरकारले थप कर लगाएपछि उपभोक्ताको भान्छा प्रत्यक्ष प्रभावित भएको हो। दैनिक उपभोग्य वस्तु खानेतेलको मूल्य आकासिएपछि रोगजारी गुमाएर बसेकाहरू गम्भीर समस्यामा परेका छन्।
खुद्रा व्यापार संघका अनुसार पछिल्लो एक साताबीचमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो हप्ता सबैभन्दा धेरै खानेतेलमा मूल्य बढेको छ। प्रतिलिटरमा ३० रुपैयाँसम्म वृद्धि भएको छ,' एक व्यापारीले भने।
उद्योगीका अनुसार सरकारले भन्सार बढाएसँगै खानेतेलको मूल्य १० रुपैयाँदेखि २० रुपैयाँसम्म बढाएका छन्। तर, डिलरले अझ मूल्य बढाएर खानेतेल बिक्री गरिरहेको हुनसक्ने अनुमान छ।
उद्योगीले उत्पादन गरेर बजारमा बढाएको खाने तेलभन्दा सिधै तोरीको दाना झिकाएर तेल बनाएर बेच्नेले मूल्य अत्यधिक बढाएका छन्। ‘ताजा र शुद्ध तेल भन्दै मिलबाट सिधै तेल बिक्री हुन्छ,’ एक व्यवसायीले भने, ‘सर्वसाधारणलाई शुद्धता र ताजा भनेर झुक्याएर महँगोमा खानेतेल बिक्री गरिरहेका छन्।’
उत्पादक र सरकारको मिलेमतोमा खानेतेलको मूल्य बढेको उपभोक्ताकर्मी माधव तिमिल्सेना बताउँछन्। सरकारले जुन गतिमा कर बढाएको छ, त्योभन्दा धेरै मूल्य वृद्धि गरिएको उनको भनाइ छ।
‘१ प्रतिशत भन्सार रहेको तोरीमा ५ प्रतिशत पुर्याउँदा लिटरमै ३० रुपैयाँ बढ्छ?,' उनले प्रश्न गरे, ‘उद्योगीले डिलरमा पठाएको मूल्यमाथि सरकारले कुनै अनुगमन नगरेकाले उपभोक्ता मर्कामा परेका छन्।’