बेनी। म्याग्दीको धवलागिरि गाउँपालिकामा करिब एक करोड रुपैयाँको लागतमा एक घर एक धाराको सुविधा भएका तीन खानेपानी आयोजना निर्माण भएका छन्।
नेपाल स्वास्थ्यको लागि पानी (नेवा), धवलागिरि गाउँपालिका र समुदायको लागत साझेदारीमा वडा नम्बर ५ को मल्कवाङ, भेडिखाल्टा र वडा नम्बर ६ को बेँशी पन्थोकमा आयोजना निर्माण भएका हुन्।
नेवाका प्राविधिक निरीक्षक रामबहादुर बुढाले ९४ लाख नौ हजार आठ सय दुई रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट एक सय ५३ घरधुरी लाभान्वित भएको बताए। ‘घरघरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्ष २०८०/८१ मा धवलागिरि–२ खोरिया र लमसुङमा दुई खानेपानी आयोजना बनाउन सर्वेक्षण भएको छ।’
५७ लाख ६२ हजार आठ सय तीन रुपैयाँको लागतमा निर्माण भएको मल्कवाङ खानेपानी आयोजनाबाट ८५ धरधुरी लाभान्वित भएका छन्। छहराको मुहानबाट पानी ल्याएर मल्कवाङमा ४९, होपाटोलमा ३८ घर, वडा, विद्यालय र स्वास्थ्य चौकीमा एक÷एकवटा धारा बनाएर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष रोजबहादुर छन्त्यालले जानकारी दिए।
‘घरघरमा धारा बनाएर पानी वितरण गरेपछि समयको बचत, सुविधा र जनजीवन सहजका भएको छ,’ उनले भने, ‘यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामा पर्याप्त पानी नआउँदा समस्या भएको थियो।’ यसका लागि उपभोक्ताले प्रतिघर ४५ दिनका दरले श्रमदान गरेका थिए।
सोही वडाको भेडिखाल्टामा नेवाको दश लाख ५४ हजार आठ सय ७८, धवलागिरि गाउँपालिकाको ६ लाख ९४ हजार आठ सय ८२ अनुदान र उपभोक्ताको चार लाख २३ हजार सात सय ६९ रुपैयाँबराबरको श्रमदानमा अर्को खानेपानी आयोजना निर्माण भएको छ। सो आयोजनाबाट ३९ वटा घरधुरी रहेको भेडिखाल्टामासँगै जोडिएका दुई वटा घरले एउटा धारा प्रयोग गर्ने गरी ३४ वटा धारा बनाइएको वडाध्यक्ष अमर छन्त्यालले जानकारी दिए।
यसैगरी धवलागिरि गाउँपालिका–६ मा १४ लाख ७३ हजार चार सय ७० रुपैयाँको लागतमा निर्माण भएको बेँसी पन्थोक खानेपानी आयोजनाबाट २९ वटा घरधुरीका दुई सय १२ जनसङ्ख्या लाभान्वित भएका छन्।
जनविकास आधारभूत विद्यालय र प्रगति युवा क्लबको भवनमा पानी वितरण गर्न निजी धारा जडान गरिएको छ। नेवाको सात लाख ७७ हजार ९२, गाउँपालिकाको तीन लाख ९९ हजार चार सय ७५ अनुदान तथा उपभोक्ताको ३३ हजार चार सय ५९ नगद र दुई लाख चार सय ४४ रुपैयाँबराबरको श्रमदानमा आयोजना निर्माण भएको हो।
आगनकै धारामा नियमित स्वच्छ खानेपानी आपूर्ति हुन थालेपछि सुविधाका साथै पानीका लागि खर्चनुपर्ने समय बचत भएको स्थानीय भूमिका गर्बुजाले बताइन्। आगामी वर्ष मालिका गाउँपालिकामा ६ वटा र मङ्गला गाउँपालिकामा तीन खानेपानी आयोजना निर्माण गर्न लागिएको नेवाले जनाएको छ।