बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहकार्यबिना मुलुकको समृद्धि सम्भव नभएको बताएका छन्।
बिहीबार लुम्बिनी केबुलकारको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। ‘सरकार सधैं निजी क्षेत्रको साथमा छ र रहन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘निजि क्षेत्रको सहकार्यबिना मुलुकको समृद्धि सम्भव छैन। यसर्थ सरकार निजी क्षेत्रलाई जुनसुकै किसिमको सहयोग गर्न प्रतिबद्ध छ।’
उनले सबै राजनीतिक दल र निजि क्षेत्र मिलेको खन्डमा मात्रै मुलुकमा समृद्धि हासिल गर्न सकिने बताए। ‘सबै राजनीतिक दल र निजि क्षेत्र मिलेको खन्डमा मुलुकमा समृद्धि हासिल गर्न सहज हुने मैले देखेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘निजि क्षेत्रको साथमा रहेरै छ महिनामा दुर्घटनाग्रस्त मुलुकको अर्थतन्त्रले लय समात्न लागेको छ।’
उनले अहिलेसम्म चल्दै आएको विकास मोडेलका बारेमा पनि गम्भीर रूपले सोच्ने बाटोमा सरकार अगाडि बढेको बताए।
‘देशको अर्थतन्त्र दबाबमा रहेको समयमा आइएमई ग्रुपले गरेको यो कामले सकारात्मक सन्देश दिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘निजी क्षेत्रको यस्तो कार्यले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्ने भएकाले यस्ता कार्य गर्न चाहने जोकोहीलाई हामीले स्वागत गर्ने छौं।’
उनले कोरोना महामारीको संकट भर्खरै मत्थर भएको अवस्थामा निजी क्षेत्रले पनि यो अवस्था सुधार गर्न महत्त्वपूर्ण योगदान गर्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे।