काठमाडौं। निजी लगानीमा नेपालमा पहिलोपटक तनहुँ बन्दीपुरमा बन्न लागेको सिसाको पुल (स्काइवाक) को मेकानिकलतर्फको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। अन्य फाउन्डेसनको डिपिआर आउन बाँकी रहेको बन्दीपुर स्काइवाक एन्ड बन्जिजम्पका सञ्चालक रामचन्द्र शर्माले बताए।
केही दिनभित्र फाउन्डेसनको डिपिआर तयार भइसक्ने शर्माले जानकारी दिए। मेकानिकलतर्फको कामका लागि ५७ करोड रुपैयाँ लाग्ने डिपिआरले देखाएको छ। बाँकी अन्य फाउन्डेसनको लागत डिपिआरपछि यकिन हुनेछ। स्काइवाक एन्ड बन्जिजम्प बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडको सहायक कम्पनी हो।
यसअघिको प्रारम्भिक अध्ययनले सिसाको पुल बनाउन १ अर्ब रुपैयाँ लाग्ने देखाएको थियो। मेकानिकल र अन्य फाउन्डेसनकाे जोड्दा सोहीहाराहारी लाग्ने देखिएको छ। दुवै डिपिआरपछि सिसाको पुल पूर्वाधारको काम सुरु हुने अध्यक्ष शर्माले बताए। पहिला स्वपुँजीबाट काम सुरु गर्ने उनले बताए। ‘अपुग रकममात्र बैंकबाट ऋण लिइने छ,' उनले भने, 'सर्वसाधारणबाट सेयर जारी गरेर थप लगानी उठाउने याेजना छ।'
सिसाको पुल उत्तरी छिमेकी चीन र रुसमा छ। नेपालमा बन्न लागेको पहिलो हो। स्काइवाकमा नेपाल एसबिआई बैंक र एनएमबी बैंकको लगानी हुनसक्ने बताइएको छ। बन्दीपुर केबुलकारमा यी दुई बैंकको ऋण लगानी छ।
स्वदेशी तथा विदेशी पर्यटक लक्षित गरी सिसाको पुल पूर्वाधार तयार पारिएको हो। बन्दीपुर केबुलकार चढेर माथिल्लो भागमा पुगेपछि सिसाको पुलबाट घना जंगललगायत अन्य मनमोहक दृष्यावलोकन गर्न सकिने छ।
निर्माणाधीन बन्दीपुर केबुलकारको माथिल्लो तहमा रहने १७ तले पाँचतारे होटलको सभाहल पछाडि भागकाे भीरमा सिसाको पुल बन्ने छ। पुलको लम्बाइ ६५ मिटर हुनेछ।
सिसाको पुल जमिनको सतहबाट ३ सय मिटरमाथि निर्माण हुनेछ। पुलमुनि खोप्चा घना जंगल छ। भीरबाट सिधै सिसाको पुलमा हिँड्न मिल्ने छ। पुलबाट पर्यटकले आनन्द लिन सक्ने शर्माको भनाइ छ।
डिपिआर तयारपछि आवश्यक स्वीकृति लिएर पूर्वाधार निर्माणको काम सुरु हुने उनले जानकारी दिए। काम सुरु गरेको एक वर्षमा सिसाको पुल बनाइसक्ने लक्ष्य कम्पनीको छ।
शर्माको अगुवाइमा बन्दीपुरमा साढे ३ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटलसहित केबुलकार निर्माण पनि भइरहेको छ। केबुलकार निर्माण सम्पन्न भई परीक्षण सञ्चालन भइरहेको अध्यक्ष शर्माले जानकारी दिए। होटल सञ्चालनको अवस्थामा आएपछि मात्र केबुलकार सञ्चालनमा ल्याउने योजना रहेको उनले सुनाए। ‘यतिको वर्ष पर्खियो, अब होटल सञ्चालनमा आएपछि मात्र व्यवसायिकरूपमा केबुलकार सञ्चालन गर्नेछौं। यसका लागि अझै २ महिना लाग्छ होला,’ उनले भने। केबुलकार सञ्चालनका लागि स्वीकृति लिनेक्रममा रहेको उनले जानकारी दिए।
बन्दीपुरमा केबुलकार, होटसँगै सिसाको पुल परियोजना रहेको छ। शर्माको अगुवाइमा तनहुँ खैरेनी नजिकै बुढीमाई छिन्केश्वरीमा पनि केबुलकार सञ्चालन गर्ने तयारी भइरहेको छ।