काठमाडौं। लुम्बिनी केबुलकारको औपचारिक उद्घाटन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन्। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबुलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो।
केबुलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तब्य बनेको छ।
यसअघि यहि जेष्ठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना शुरु गरिएको थियो। सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिएका थिए।
वसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।
केबुलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबुलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबुलकार लुम्बिनी प्रदेशको पहिलो हो। आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबुलकार हो। यसअघि आइएमई समुहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबुलकार सञ्चालनमा ल्याइसकेको छ।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबुलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताएका छन्। भारतको गोरखपुर, लखनउ लगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबुलकारमा लगानी गरिएको बताए।
केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब रुपैयाँ लगानी भएको छ। टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काईवाक, जीप लाइन निर्माणको क्रममा छन। मोनोकेबुल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबुलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ।
बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा छ। बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ।
खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबुलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए। केबुलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।