एजेन्सी। नेपालका एकमात्र डलर अर्बपति तथा सांसद विनोद चौधरीको लगानीमा भारत महाराष्ट्र पालघरमा ‘द फर्न सेल्टर रिसोर्ट, पालघर’ सञ्चालनमा आउन लागेको छ।
उक्त रिसोर्ट यो महिना अन्तिमसम्ममा पूर्णसञ्चालनमा आउने होटल व्यवस्थापक कम्पनी द फर्न होटल्स एन्ड रिसोर्टले जनाएको छ।
रिसोर्टमा ८१ लक्जरियस कोठा छन्। यो फर्न होटल्सको १०० औं होटल/रिसोर्ट हो। आफ्नो १००औं ‘प्रपर्टी’ सञ्चालनमा आउन लाग्दा लगानीकर्ता तथा व्यवस्थापकले खुसी साटासाट गरेका छन्।
भारतको आतित्थ सत्कार उद्योग कोरोना महामारी र त्यसपछि जारी आर्थिक मन्दीबाट मुक्त हुन सकेको छैन। यहीबीच पर्यटन भविष्य हेरेर चौधरीको सिजी कर्प ग्लोबल र सिजी हस्पिटालिटी होल्डिङ्सले उक्त रिसोर्टमा लगानी गरेको हो।
‘पर्यावरणमैत्री अभ्यासका लागि भारतमा ग्रिन होटल आन्दोलनमा हामीले पहिचान बनाएका छौं,’ रिसोर्ट सञ्चालनमा आउन लागेको अवसरमा आयोजित घोषणा कार्यक्रममा सिजी कर्प ग्लोबल र सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले भने, ‘यो रिसोर्ट सुरुवातसँगै हामीले जिम्मेवार र पर्यावरणमैत्री होटल स्थापनाको काम जारी राख्छौं।’सिजीसँग हाल १२ देशमा करिब १ सय ५० होटल र रिसोर्टको पोर्टफोलियो छ।
द फर्न होटल्स एण्ड रिसोर्ट्सका प्रबन्ध निर्देशक सुहेल कन्नमपिल्लीले आफ्नो उपस्थिति विस्तार गर्न र आतिथ्य उद्योगमा नयाँ बेन्चमार्क स्थापना गर्न समर्पित रहेको बताए।
त्यस्तै सेल्टर ग्रुप अफ होटल्स एन्ड रिसोर्ट्स प्रालिका प्रबन्ध निर्देशक हरिश सेट्टीले द फर्न होटलससँग आफ्नो फ्ल्यागगसिप होटलको साझेदारी गर्न पाउँदा खुसी लागेको बताए।
‘ब्याक अन हस्पिटेबल ग्राउन्ड्स, होटल्स सेट टु ग्रो इन २०२४’ शीर्षकमा क्रेडिट रेटिङ एजेन्सी केयरएजको प्रतिवेदनमा छ, ‘उद्योगको मागको दृष्टिकोण सकारात्मक छ, जसले आशाजनक भविष्यलाई संकेत गर्छ। यस क्षेत्रको उपलब्ध प्रतिकोठा राजस्व (रेभपार) आर्थिक वर्ष २०२३ अन्त्यसम्ममा प्रतिकोठा ४ हजारदेखि ४ हजार १ सय भारुसम्म पुग्ने अनुमान गरिएको छ। यसले आर्थिक वर्ष २०१९ का स्तरमा सीमान्त वृद्धिलाई प्रतिविम्बित गर्छ, जुन पेसा र औसत दरहरूमा बलियो पुनरुत्थानद्वारा सहयोग गरिएको छ।’
रेभपार होटलको कार्यसम्पादन नाप्ने मेट्रिक हो। यो पुनरुत्थान मुख्यतः औसत दैनिक कोठा दर (एआरआर) द्वारा सञ्चालन हुन्छ। वैवाहित कार्यक्रम, फुर्सदको यात्रालगायत कारण आर्थिक वर्ष २०२३ मा एआरआर धेरै राम्रो हुन पुगेको छ। तर, मूल्यवृद्धिले आर्थिक वर्ष २०२४ मा दबाब दिने सम्भावना रहेको होटल व्यवसायीको भनाइ छ।
उद्यमी विनोद चौधरीले आतिथ्य सत्कार उद्योगमा राष्ट्रियत तथा अन्तर्राष्ट्रिय हिसाबमा उल्लेख्य लगानी गरिरहेका छन्।
चौधरीका हाल ललितपुर झम्सीखेलमा चारतारे होटल भिभान्ता र कुपन्डोलमा पाँचतारे स्तरको निर्माणाधीन होटल समिट, चितवन मेघौलीमा मेघौली सेराइ ताज सफारी लज र नारायणगढमा होटल द फर्न रेसिडेन्सी, होटल मिरायालगायत छन्।