काठमाडौं। मकवानपुरको हेटौंडामा रहेको चुरियामाइ सुरुङमार्ग निर्माण आउँदो असारमा सम्पन्न हुने भएको छ। २०७८ वैशाख १९ गते बागमती प्रदेशको भौतिक पूर्वाधार निर्देशनालयले ‘माउन्टेन इन्फ्रा कन्स्ट्रक्सन’सँग सुरुङमार्ग मर्मतका लागि सम्झौता गरेको थियो। निर्देशनालयका इन्जिनियर एवं प्रवक्ता हरि ओझाका
अनुसार १ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको सो सुरुङमार्ग हालसम्म ८५ प्रतिशत कम सम्पन्न भएको छ। पुनर्निर्माणका लागि ३ करोड ३६ लाख रुपैयाँमा सम्झौता गरिएको प्रवक्ता ओझाले बताए।
‘२०७८ मा सम्झौता गर्दा १ वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि सम्भव भएन, अहिले ८५ प्रतिशत काम सकियो असार मसान्तसम्म पूर्ण रुपले निर्माण सन्पन्न हुन्छ’ प्रवक्ता ओझाले भने।
राणाकालमा बनेको सो सुरुङमार्गको लम्बाइ ५ सय मिटर छ भने चौडाइ साढे २ मिटर र उचाइ ३ मिटर छ। राणाकालमा सवारीसाधन सञ्चालन गरिए पनि अब सो सुरुङमार्ग पर्यटकीय नगरी र अवलोकनका लागि मात्रै सञ्चालन गर्ने योजना छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको सो सुरुङमार्ग सञ्चालनको जिम्मेवारी उपमहानगरकै हुने निर्देशनालयका प्रवक्ता ओझा बताउँछन्।
क्यापिटल नेपालसँग उनले भने, ‘पुनर्निर्माणको खर्च प्रदेश सरकारले गरेको हो, हामीले निर्माण सम्पन्न गरेर उपमहानगरलाई दिन्छौं त्यसैले कहिलेबाट सर्वसाधारणले अवलोकन गर्न पाउँछन् भन्ने उपमहानगरलाई नै थाहा हुन्छ।’
प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर पुनर्निर्माणका लागि ‘माउन्टेन इन्फ्रा कन्स्ट्रक्सन’सँग सम्झौता गरेको थियो।