काठमाडौं। नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित 'सफा हिमाल अभियान २०२३' को चौथो संस्करण सम्पन्न भएको छ।
विश्व वातावरण दिवसका अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरी अभियान सम्पन्न भएको हो। कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत अभियानमा संलग्न अन्य साझेदार निकाय र सरकारी अधिकारी तथा मुख्य सरोकारवाला सहभागी थिए।
चार मुख्य हिमाल– सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाइ गर्ने उद्देश्यसाथ उक्त अभियान मार्च २८ मा सुरु भएको थियो। अत्यधिक उचाइमा रहेका यी हिमालबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाली सेनाका सदस्य र शेर्पा गरी ९७ सहभागी थिए।
टिमको अथक प्रयासले ३५ हजार ७ सय ८ किलो फोहोर संकलन गर्न सफल भएको थियो। यसरी संकलन गरिएकाे फोहोर काठमाडौं पठाइ पूर्णरूपमा छुट्ट्याएर 'रिसाइकल पार्टनर' क्रिएसनलाई हस्तान्तरण गरिने छ। जसले ती फोहोर पुन: छुट्ट्याएर रिसाइकल अथवा उचितरूपमा व्यवस्थापन गर्ने छ।
‘यी चार मुख्य हिमालबाट ३५ हजार ७ सय ८ किलो फोहोर संकलन गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ। प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा अवश्य चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर हाम्रा हिमाल सफा राख्ने यो अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई हामीले गर्वका रूपमा लिनुपर्छ,' अभियानको सफलताबारे अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले भने, 'साथै, यो अभियानलाई सफल बनाउन मद्दत पुर्याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्ण संस्थाहरूको अटल सहयोगप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं। यो अभियान सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा कोकाकोला फाउन्डेसनलाई विशेष धन्यवाद प्रदान गर्दछौं।’
कोकाकोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले सफा हिमाल अभियानसँगको साझेदारीलाई जोड दिँदै भने, ‘कोकाकोला फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोरमुक्त बनाउने हाम्रो दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको छ। यी हिमाल प्राकृतिक सम्पत्ति हुन्। नेपालीका लागि सांस्कृतिकरूपमा पनि महत्त्व राख्छन्। हामीलाई आशा छ कि यी हिमालको पवित्रता जोगाउन हाम्रो सहयोगले पनि भूमिका खेल्ने छ। यस्ता अभियानले जलवायु परिवर्तनविरुद्ध पहल गर्न नेपाल र विश्वभरि नै प्रेरित गर्ने छ भनेर हामी आशा गर्दछौं।’
वातावरणीय दिगोपन र सामुदायिक संलग्नतासम्बन्धी परियोजनाका लागि कोकाकोला फाउन्डेसन सधैं अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको छ। जसमध्ये सफा हिमाल अभियान पनि एक हो। नेपाली सेना, सरकारी संस्था, दातृ संस्था र संलग्न सम्पूर्णको सामूहिक प्रयासबाट हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन महत्वबारे जनचेतना जगाउन यो अभियानले महत्वपूर्ण प्रभाव पारेको छ। सफा हिमाल अभियान २०२३, सहकार्य, धैर्य र वातावरणीय जिम्मेवारीको प्रेरणादायी उदाहरण बन्न पुगेको छ। यो अभियान नेपालको प्राकृतिक सम्पदालाई भावी पुस्ताका लागि संरक्षण गर्ने सामूहिक प्रतिबद्धताको प्रमाण हो।