काठमाडौं। सिंगापुरको राइजन इनर्जीले सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएसआर) को मूल्यांकन सकिएको छ।
राइजनले नेपालमा सोलार प्रविधिबाट २ सय ९० मेगावाट बिजुली उत्पादन गर्न सकिने जानकारी दिएको छ। प्रतिवेदनको मूल्यांकन लगानी बोर्डको प्राविधिक टोलीले सकेको हो।
डिएफएसआरको मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बस्ने लगानी बोर्डको ५५ औं बैठकमा पेस गर्ने तयारी भएको छ। बोर्डबाट स्वीकृत भएपछि राइजनलाई इजाजत (लाइसेन्स) दिने प्रक्रिया अघि बढ्ने छ। राइजनले गत साउनमै लगानी बोर्डमा डिएफएसआर बुझाएको हो।
राइजनले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा सोलार प्रविधिबाट २ सय ५० मेगावाट र सोलार ब्याट्री जडान गरेर थप ४० मेगावाट ऊर्जा उत्पादन गर्न लागेको हो।
सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न २२ अर्ब ४० करोड रुपैयाँ लाग्ने राइजनले गरेको अध्ययनले देखाएको छ। बोर्डबाट प्रतिवेदन पास भएपछि आयोजना विकास सम्झौता (पिडिए) र नेपाल विद्युत प्राधिकरणसँग ऊर्जा खरिद–बिक्री सम्झौता (पिपिए) प्रक्रिया अघि बढ्ने छ। राइजनको लाइसेन्स म्याद पनि थप भइसकेको छ। यसअघि उसले लाइसेन्सको म्याद थप गर्न लगानी बोर्डमा निवेदन दिएको थियो।
विद्युत प्राधिकरणले घटाघट प्रक्रिया (लोकस्ट) विधिबाट सोलार प्रविधिको बिजुली खरिद गर्ने भएको आयोजना आर्थिकरूपमा सम्भाव्य नहुने सम्भावना पनि त्यत्ति नै छ। अध्ययनले परियोजनालाई आर्थिक एवं प्राविधिकरूपमा संभाव्य देखाए पनि अघि बढ्ने वा नबढ्ने विद्युत प्राधिकरणसँगको पिपिएमा निर्भर हुनेछ।
सस्तोमा बिजुली दिने प्रस्ताव गर्ने विकासकर्तासँग मात्र विद्युत प्राधिकरणले पिपिए गर्दे आएको छ। २०७७ असार ७ मा बसेको लगानी बोर्ड बैठकले सम्भाव्यता अध्ययन गर्न राइजनलाई अनुमति दिएको थियो।
सोही वर्ष माघमा आयोजनाको सम्भाव्यता अध्ययनका लागि बोर्ड र राइजनबीच समझदारी (एमओयु) भएको थियो। सोहीअनुसार राइजनले डिएफएसआर तयार पारेर लगानी बोर्डमा बुझाएको हो।
२०७७ चैतमा सोलार प्रविधिबाट बिजुली उत्पादन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा राइजन क्लिन इनर्जी नेपाल प्रालि दर्ता भएको छ। राइजनमा सिंगापुरको शत्प्रतिशत लगानी छ। कम्पनीले २०७८ असोजमा सर्वेक्षण अनुमति पाएको थियो।
त्यतिबेला लगानी बोर्डले राइजन इनर्जी सिंगापुर जेभी प्रालिलाई सर्वेक्षण अनुमति दिने निर्णय गरेको थियो। त्यतिबेला नै राइजनले बाँके कोहलपुर नगरपालिका र कपिलवस्तु वाणगंगामा २० मेगावाट स्टोरेज क्षमतासहितको छुट्टाछुट्टै सौर्य परियोजना सार्वजनिक–निजी साझेदारीमा अध्ययन तथा विकास गर्न भनेको थियो।
सम्भाव्यता अध्ययनअनुसार सोलार परियोजना क्षमता बढाएर २ सय ९० मेगावाट पुर्याइएको छ। दिउँसो सोलारबाट ब्याट्री चार्ज गरेर साँझ पिक आवरमा बिजुली प्रवाह गर्ने योजना कम्पनीको छ।
राइजनले नुवाकोटमा २५ मेगावाटको सोलार प्रविधि बनाएको छ। उक्त परियोजनाअनुसार विश्व बैंकको सहयोगमा विद्युत प्राधिकरणले नुवाकोटमा सोलार प्रविधि जडान गरेको हो। नुवाकोटमा निर्माण व्यवसायीको रूपमा नेपाल प्रवेश गरेको राइजन अहिले विकासकर्ताका रूपमा अघि आएको छ। उसले ठूलो रकम लगानी गर्दै छ।
जलविद्युतमात्र नभई, अहिले सोलार परियोजनाबाट पनि बिजुली थपिनेक्रम बढेको छ। नपाली लगानीकर्ताले अहिले धमाधम सोलार परियोजना बनाउन थालेका छन्। हालसम्म सौर्य प्रणालीबाट ६० मेगावाट बिजुली थप भइसकेको छ। जसमध्ये २५ मेगावाट विद्युत प्राधिकरणको योगदान छ।
असारभित्र २८ मेगावाट क्षमताका तीन सोलार परियोजना सञ्चालनमा आउने भएका छन्। असारसम्म प्योर इनर्जीले बाँके नरैनापुरमा बनाउँदै गरेको १० मेगावाटको सोलार, फस्र्ट सोलार डेपलपर्सको कपिलवस्तुमा ८ र ग्लोबल इनर्जीको सुनसरीमा ८ मेगावाटको सोलार परियोजना सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ।
प्रणालीमा थप हुने आयोजनामा अपी पावर कम्पनी लिमिटेडको १ मेगावाटको सिमरा सोलार परियोजना छ। यस्तै, नेसनल पावर कम्पनीको नवलपरासीमा ५ मेगावाटको सोलार परियोजना पूरा भई बिजुली उत्पादन सुरु भएको छ।