काठमाडौं। नेपाल वनस्पति ध्यूतेल उत्पादक संघले ध्यूतेलको कच्चा पदार्थमा लगाइएको भन्सार महसुल दर साविक बमोजिम नै कायम गर्न माग गरेको छ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले बढाएको भन्सार महसुल र मुल्य अभिवृद्धि कर साविककै राख्न माग गरेको हो।
सरकारले कच्चापदार्थको भन्सार महसुल १ प्रतिशतबाट बढाएर पुनः १० प्रतिशत कायम गरेको र तोरी, क्यानोला सिडको आयातमा रहेको १ प्रतिशत भन्सार महसुल बढाएर ५ प्रतिशत पुर्याएको भन्दै संघले साविककै बमोजिम १ प्रतिशत कायम गर्न माग गरेको छ।
भन्सार मसुलको वृद्धिले यस संघमा आबद्ध उद्योगहरू धरासायी हुन जाने भन्दै यसको शीघ्र समाधान नगरेको खण्डमा सम्पूर्ण अत्यावश्यक वनस्पति घ्यूतेल उत्पादन गर्ने उद्योगहरू बन्द हुन जाने र यसले समग्र अर्थतन्त्रमा प्रत्यक्ष रूपले गम्भीर असर पार्ने संघले जनाएको छ। चरम आर्थिक मन्दीका कारण आम उपभोक्तामा कर तथा महसुलको कारणले उपभोक्तालाई प्रतिलिटर १५ रुपैयाँभन्दा बढी मूल्यवृद्धि हुनेसमेत संघले बताएको छ।
हाल भारतमा घ्यूतेलको कच्चापदार्थ अर्थात क्रुड आयलमा भन्सार महसुल शून्य प्रतिशत र जिएसटी ५ प्रतिशतमात्रै रहेको तर नेपालमा प्रस्तुत २०८०/८१ को बजेटले उद्योगको लागि कच्चापदार्थमा नै १० प्रतिशत भन्सार महसुल र मूल्यअभिवृद्धि कर १३ प्रतिशत लगाएको हुँदा नेपाल र भारतमा करमात्रै लगभग २० प्रतिशतको फरक हुन जाने संघका अध्यक्ष विकास दुगडले जानकारी दिए।
‘यसले नेपाल र भारतजस्तो खुल्ला सिमाना भएको देशमा चोरी पैठारी बढ्न गई अनाधिकृत व्यापार बढि एकातिर घ्युतेल उद्योगहरू संकटमा पर्ने र अर्कोतिर सरकारलाई पनि राजस्व प्राप्त नहुने अवस्था आउने देखिन्छ,’ अध्यक्ष दुगडले भने, ‘साथै तोरी, क्योनोल सिडको आयातमा पनि भन्सार महसुल १ प्रतिशतबाट बढाएर ५ प्रतिशत तोकिएको हुँदा उक्त महसुलल दरलाई पनि साविककै बमोजिम १ प्रतिशत कायम गर्न अनुरोध गर्दछौं।’
उनले हालकै अवस्थामा पनि भारतसँगको सिमावर्ती क्षेत्रमा चोरी पैठारीका सामानहरू बिक्रीवितरण भैरहेको बताउँदै थप भन्सार महसुल फरक हुँदा यसले ठुलो असर पर्ने देखिएको बताए।
संघले आफूहरूले थप नोक्सान धान्न नसक्ने बताउँदै अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको साँचो सरकारलाई बुझाउनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको समेत जानकारी दिएको छ।