काबुल, सिन्ह्वा। अफगानिस्तानको वर्तमान् ऊर्जा आवश्यकता पुरा गर्न १ हजार ५०० मेगावाट चाहिने तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ। हाल अफगानिस्तानले ७ सय २० मेगावाटसम्म विद्युत् आयात भइरहेको जनाएको छ।
विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५ सय ६५ मेगावाट छ। सिङ्गो देशलाई १ हजार ५०० मेगावाट विद्युत् आवश्यक पर्छ।” उनका अनुसार देशमा ५०० मेगावाटभन्दा बढी विद्युत् आन्तरिक स्रोतबाट आपूर्ति भइरहेको छ।
अफगानिस्तानमा विशेष गरी बाँध प्रणालीमा आधारित विद्युतले धेरै क्षेत्रमा सेवा पुर्याउँदै आएको छ। यहाँका मुख्य विद्युत बाँधहरूमा नागलो, माहिपर, सरोबी, काजाकी, सलमा र दारोन्टा रहेका छन्।
सन् २००९ मा लगातारको विद्युत अभावका कारण अमेरिकाले काबुलको थर्मल पावर स्टेसनमा ३४ करोड अमेरिकी डलर लगानी गरेको थियो। तथापि, उच्च ईन्धन मूल्यको कारण स्टेशन नियमित रूपमा प्रयोग गरिएको छैन।
“यो थर्मल पावर स्टेशन सन् २००९ को अन्त्यमा सञ्चालन हुन थालेको थियो। यसको समग्र क्षमता १ सय ५ मेगावाट छ। सामान्यतया हिउँदमा बिजुलीको अभावको चरम समयमा प्रयोग गरिन्छ वा विद्युत लाइनहरू क्षतिग्रस्त भएमा थर्मल पावरको प्रयोग गरिन्छ, स्टेशनका जनरल डाइरेक्टर अहमद वैस सरगान्दले टोलोन्यूजलाई बताए।
अफगानिस्तानले प्राकृतिक स्रोत र पानीको ठूलो स्रोत हुँदाहुँदै पनि विद्युत आपूर्तिमा चरम चुनौतीको सामना गरिरहेको छ। यहाँ अधिकांश बिजुली छिमेकी देशहरू, विशेष गरी मध्य एशियाबाट आयात गरिन्छ।