काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणमा कहिँकतै केही कमजोरी नभएको बताएका छन्। बजेट निर्माणका क्रममा मन्त्रालयमा कोही प्रवेश नगरेको उनले दाबी गरेका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री महतले भने ‘म चुनौती दिएर भन्छु,अर्थ मन्त्रालयमा केही पस्यो कि भन्ने कुरा आएको छ, जुन गलत छ। केही फाइदा उठाउन चाहनेहरु रिसाएको र त्यसो भनेको हुनसक्छन। तर, त्यस्तो भएको छैन। त्यहाँका कर्मचारी वा सबैलाई सोध्नुस यति गर्दा पनि हिलो छ्याप्ने काम हुन्छ भने नेपालमा इमानदार भएर काम हुँदैन भन्ने बुझिन्छ।’
उनले त्यो विषयमा कहीँ कतै पनि केही नभएको र बजेट बनाउने क्रममा कोही पनि नघुसेको स्पष्ट पारे। यस्तो विषयमा अनावश्यक कुरा नलेख्न पनि उनले आग्रह गरे।
‘संसद विकास कोष भनेको सांसदले सिफारिस गर्ने योजना मात्र हो। यो पूर्वाधारको पुँजिगत खर्च नै हो। यो पहिलाको जस्तो सांसदले आफ्नो खुशी खर्च गर्ने होइन,’ अर्थमन्त्री महतले भने, ‘आफूले निर्वाचित भएर आएको ठाउँमा आवश्यक ५ वटासम्म योजना सिफारिस गर्न सकुन भन्ने कुरा यसमा राखिएको छ।’ उनले सांसदले योजना सिफारिस गर्न पनि नपाउने भन्ने कुरा गर्ने भए त्यसको औषधि नभएको जिकिर गरे।
‘बजेटमा गरेका सुधारका कार्यक्रमलाई हामी गम्भीरताका साथ अघि बढाउने छौं। यसो गर्दा हामी आफूले राखेको राजस्व संकलन र अपेक्षित आर्थिक वृद्धिलाई हासिल गर्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं,’ अर्थमन्त्री महतले भने,‘यो भन्दा अघि भएन, आज भन्दा अघि सकिएको छैन र अब पनि सकिन्न भन्ने कुरालाई म ठाडै अस्वीकार गर्छु।’ उनले बजेटले राखेको लक्ष्य प्राप्त गरेरै छोड्ने दाबीसमेत गरे।
बजेट र आर्थिक विधेयकमा भिन्नता भएको र निजी क्षेत्रमा असर पुग्नेगरी बजेट आएको विषयलाई पनि अर्थमन्त्री महतले अस्वीकार गरे। ‘निजि क्षेत्रलाई सुरक्षा दिएको कुरालाई सकारात्मक ढंगबाट हेर्न जरुरी छ। हामीले कठिन अवस्था हुँदाहुँदै नहुनु भन्दा केही हुनु ठिक भनेर धेरै कुरा समेटेका छौं’ महतले भने, ‘तर आफ्नो क्षेत्रमा यसो गरेको राम्रो हुन्थ्यो यसो नगरेको भए हुन्थ्यो भन्नु स्वभाविक हो।’ उनले आफूहरूले भ्याट लगाएको विषयमा पनि सोच विचार गरेर उचित कदम चालेको बताए।