काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र अर्थतन्त्रको अवस्था हेरेर मौद्रिक नीति ल्याउने बताएका छन्।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। ‘नेपाल राष्ट्र बैंकले मुलुकको समग्र अर्थतन्त्रलाई हेरेर मौद्रिक नीति ल्याउछ,’ गभर्नर अधिकारीले भने, ‘त्यसको तयारी हामीले गरिसकेका छौ।’ उनले अर्थतन्त्रमा स्थायित्व ल्याउने हिसाबमा मौद्रिक नीति ल्याउने बताए।
‘बजेटको सिलिङ किन ठूलो भयो र सानो भयो भन्ने आफ्नो आफ्नो तर्क होला। तर सिलिङ बनाउदा हिजोभन्दा यो बजेटमा निकै छलफल भएको छ,’ गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्रमा देखिएको शिथिलतालाई केही अग्रसर गराउन बजेको यो सिलिङ आएको छ।’
उनले खर्च बढाउन साउनभित्र कार्यविधि बनाउने कुरा, राजस्व चुहावट रोक्ने, राजस्व बढाउने, यो वर्ष राजस्वमा परेको चाप काम गर्ने कोसिस बजेटमा राम्रो देखिएको बताए।
‘बजेटमा पुनर्संरचनाका कुरा आएका छन्। उद्योगमा, निजी र सरकारी क्षेत्र सहकार्य गर्ने कुरामा पनि बजेटले सनेट्ने प्रयास गरेको देखिन्छ,’ गभर्नर अधिकारीले भने, ‘बजेटमा विभिन्न खालका सुधारका प्रयास रहेको पाइन्छ।’
उनले ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतसम्म रहेर राष्ट्र बैंकले ल्याउन सक्ने मौद्रिक नीतिको सन्दर्भमा पनि बजेट उपयुक्त भएको बताए।