काठमाडौं। प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले बजेट खर्च नहुने र बजेटमा राखिएको लक्ष्य पूरा नहुने विषयले बजेटमाथिको विश्वसनियता घट्दै गएको बताएका छन्।
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा वाग्लेले यस्तो बताएका हुन्। ‘बजेट खर्च नहुने र बजेटमा राखिएको लक्ष्य पूरा नहुने कुराले बजेटमाथिको विश्वसनियता घट्दै गएको छ,’ वाग्लेले भने, ‘यो क्रम रोकिन जरुरी छ। यस्तो प्रवृत्ति जारी रहे समग्र राज्यमाथिको विश्वसनीयता कम हुँदै जान्छ।’
वाग्लेले बजेट बढाउने विषयमा हौसिनेक्रम अन्त्य हुन जरुरी रहेको बताए। ‘कोरोना महामारी, भूकम्प पुनर्निर्माण र संघीयताको चापले बीचमा बजेट बढेको भए पनि यसलाई कम गर्न आवश्यक छ,’ वाग्लेले भने, ‘यसपालिको १७ खर्ब ५१ अर्बको बजेट पनि त्यति विश्वसनिय छैन। अब अर्थतन्त्रको कोर्स करेक्सनमा जानुपर्ने देखिन्छ।’
उनले अर्थतन्त्र र बजेटको सन्दर्भमा नयाँ शिराबाट सुधारको आवश्यक रहेको बताए। यसो नभएसम्म अर्थतन्त्र सुधार नहुने उनको भनाइ छ।
‘बजेटमा योजाना, लक्ष्य र प्राथमिकताजस्ता विषयमा ध्यान दिन आवश्यक छ। सामाजिक सुरक्षालाई भिन्न रूपमा लगानी गर्नुपर्ने पनि देखिन्छ,’ वाग्लेले भने, ‘वृद्ध भत्तालाई स्वास्थ्य बिमामा लैजाने खालका उपयुक्त कदम चाल्न आवश्यक छ। जसले हाम्रो अवस्था सुधार गर्न मद्दत गर्छ।’
उनले बजेटमा उल्लेख भएका कुराहरू कार्यान्वयनमा गएर ठोकिने भएकाले सबैभन्दा महत्त्वपूर्ण विषय त्यो भएको बताए। स्टार्टअपलगायतका केही बजेट लामो समयदेखि राखिँदै आएको भए पनि यसले काममा कुनै गति लिन नसकेको स्पस्ट पारे। यसर्थ यसमा ध्यान दिन आवश्यक भएको उनको भनाई छ।