काठमाडौं। विश्व वातावरण दिवसको अवसर पारेर सिट्रोनको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ इलेक्ट्रिक कार ई–सी३ को बुकिङ खुला गरेको छ। याे इलेक्ट्रिक कारको मूल्य ३२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने सांग्रिला माेटर्सले जनाएकाे छ।
इलेक्ट्रिक कार ई-सी३ २०७९ फागुनमा भारतमा लन्च भएको थियाे। याे इलेक्ट्रिक कारको मूल्य भारतमा ११ लाख ५० हजार भारुदेखि सुरु हुन्छ।
४२ किलोवाटको मोटर रहेको यो इलेक्ट्रिक कार लाइभ, फिल, फिल भाइब प्याक, फिल डुअल–टोन भाइब गरी चार भेरिएन्टमा उपलब्ध छ।
सिट्रोन ई–सी३ मा २९.२ केडब्लुएचको ब्याट्री प्याक दिइएको छ। जसले ५७ बिएचको पावर र १४३ एनएमको टर्क जेनेरेट गर्छ। सिट्रोनको याे ईभीले ८ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने दाबी गरिएको छ।
याे ईभीको ब्याट्रीलाई फुल चार्ज गर्न १० घन्टा लाग्छ भने डिसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज हुन ५९ मिनेट लाग्छ। एकपटक फुल चार्ज भइसकेपछि याे कारले ३ सय २० किलाेमिटरकाे रेन्ज प्रदान गर्छ।
कम्पनीले यसमा अटोमेटिक ड्राइभका लागि ई–टगल स्विच दिएको छ। सामान राख्न ३ सय १५ लिटरको बुट स्पेस दिइएको छ। यसमा ३५ स्मार्ट फिचर, २६ सेन्टिमिटर टचस्क्रिनसहितको वायरलेस स्क्रिन मिररिङ, स्टेयरिङ ह्विलमा अडियो र फोन कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, १८० एमएम ग्राउन्ड क्लियरेन्स, एलइडी डिआरएललगायत फिचर उपलब्ध छन्।