काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पुनर्निर्माण र संघीयताको विषयलाई आगामी आर्थिक वर्षको बजेटले न्याय गर्न नसकेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।
'भुकम्प पछिको पुनर्निर्माणको चरणको कुरालाई पनि बजेटमा उल्लेख गरेको भए राम्रो हुन्थ्यो। अहिले पनि सयौं पालिकाको कार्यालय बस्न लायक छैनन्, कर्मचारी करारमा राखिएको अवस्थामा पनि यो बजेटले समेट्नुपर्ने हो,' खतिवडाले भने, 'यसर्थ भूकम्पपछिको पुनर्निर्माण र संघीयतालाई बजेटले न्याय गरेको देखिँदैन।'
कोरोना, भुकम्पपछिको पुनर्निर्माण र संघीयताका सन्दर्भमा यो बजेट किन बढेको हो भन्ने कुरालाई अध्ययन गर्न आवश्यक रहेकाे उनकाे भनाइ छ। खर्चमा चाप परे पनि कतिपय सामाजिक क्रियाकलाप र सामाजिक न्यायको आधारमा नेपालको खर्च बढी भएपनि मानवीय ढंगले हेर्दा राम्रो देखिएको बताए।
'यो बजेट घटेको होइन। गतवर्ष वा चालू वर्षको आधारमा जोडेर बजेट घटेको भन्न मिल्दैन। बजेटमा राम्रो कुरा भनिएको छ, तर कति राम्रो मानिएको छ भन्ने महत्त्वपूर्ण हो,' खतिवडाले भने, 'सस्तो लोकप्रियताका लागि नभएर अर्थमन्त्री दीर्घकालीनरूपमा राम्रो गर्ने र तत्कालका लागि गाली खान पनि तयार हुनेपर्ने हुन्छ।'
उनले कुनै आयोजनामा पैसा, खर्च र सबै कुराहरू उचित भए पनि त्यसले गति लिन नसकेको बताए।
आयोजनाका बारेमा साधन-स्रोत धेरै छरियो भन्दै गर्दा हाम्रो इच्छा आकांक्षा बढी भएको कुरालाई मध्यनजर गर्न जरुरी भएको उनकाे भनाई छ।