काठमाडौं। ग्लोबल इक्विटी फन्ड र युएसएड ट्रेड एन्ड कम्पिटिटिभनेस नेपालबीच सम्झौता भएको छ। यी दुई कम्पनीबीच लघु, साना तथा मझौला उद्योगमा वैकल्पिक लगानीका स्रोतमा पहुँच सुनिश्चित गर्ने र त्यस्ता व्यवसायलाई प्रवर्द्धन, विस्तार सेवामा उपलब्धता र पहुँच बढाउन सहकार्य गर्ने सम्झौता भएको हो।
फन्डका प्रबन्ध निर्देशक डा. मनिष थापा र युएसएड ट्रेड नेपालकी प्रमुख एग्नेस लुजले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौताको अवधि २०२३ जुनदेखि २०२६ अक्टोबरसम्म रहने छ। फन्डका प्रबन्ध निर्देशक डा. थापाले नेपाल लघु, साना तथा मझौला उद्योगले ९० प्रतिशत हिस्सा ओगटेको छ। यसले उद्यमशिलता प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गरी देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनले बताए। तर, यी लघु, साना तथा मझौला उद्यमहरूले वित्तीय पहुँचमा अझ बढी समस्या भोग्नुपरेको बताए।
फन्डले नेपालको पहिलो महिला उद्यमी केन्द्रित प्राइभेट इक्विटी फन्ड सुरु गर्न काम गरिरहेको छ। जसले महिला नेतृत्वका उद्यमहरूमा लगानी गर्ने छ। यो कोष स्थापना गर्न युएसएड ट्रेड नेपालले फन्डलाई प्राविधिक सहयोग उपलब्ध गराउने छ। यस प्राविधि सहयोगले ग्लोबल इक्विटी फन्डलाई जेन्डर लगानी लेन्स र इम्प्याक्ट लगानी कोषको लागि ढाँचा स्थापना गर्न मदत गर्ने डा. थापाले बताए।
फन्ड नेपाल धितोपत्र बोर्डद्वारा इजाजतपत्र प्राप्त पहिलो प्राइभेट इक्विटी, भेन्चर क्यापिटल कोष व्यवस्थापक कम्पनी हो। यसले वातावरणीय, सामाजिक र सुशासनको अभ्यासलाई प्राथमिकता दिने र उच्च प्रतिफल सम्भावना भएका उद्यममा लगानी गर्दछ। हाल यसले नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड व्यवस्थापन गरिरहेको छ, जसले विभिन्न क्षेत्रका चार उद्यममा लगानी गरिसकेको छ।
युएसएड ट्रेड एन्ड कम्पिटिटीभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो, जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिकरूपले पिछडिएकाहरूका लागि दिगो रोजगारी वृद्धि र आय सिर्जनाका अवसर बढाउन विश्व्यापी पुँजीकरण एकीकृत गर्न सक्षम र स्थिरतामा सघाउ पुर्याउने काम गर्छ।