इस्तानबुल, एएफपी। विश्वभरिका वायुसेवा कम्पनीरूले सन् २०२३ मा ४ अर्ब ३५ करोड अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) ले गरेको छ।
यो सेवा संख्या २०१९ को रेकर्ड नजिक पुगेको छ। कोभिड महामारीबाट विश्वसमुदाय बिस्तारै सामान्य अवस्थामा फर्किएको र यसको लाभ विश्वभरिका उडान सेवाले लिने आएटाले सोमबार जानकारी गराएको हो।
आएटाका अनुसार २०२३ मा विश्व वायुसेवा उद्योगको खुद नाफा ९ अर्ब ८० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यो अघिल्लो अनुमानभन्दा दोब्बर हो। विश्वसमुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खुद नाफा अनुमानभन्दा बढी अर्थात दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो।
आएटाका अनुसार अनुसार २०२२ मा ३ अर्ब ६० करोड डलरबराबर नोक्सानी अनुमान गरिएभन्दा आधा कम नोक्सान भएको थियो।
‘२०२३ मा वायुसेवाहरूको वित्तीय सुधारले अपेक्षालाई पराजित गरिहेको छ,’ आएटाका महानिर्देशक विली वाल्सले इस्तानबुलमा संगठनको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भने।
‘बलियो लाभप्रदता धेरै सकारात्मक विकासद्वारा समर्थित छ। चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्सले भने।
हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो ६ महिनामा भने यो मूल्यमा कमी आएको उनले बताए।
२०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो। तर, त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ। लागत पक्षमा केही राहत भएको वाल्सले बताए।
‘आर्थिक अनिश्चितताले यात्रा गर्ने इच्छा कम गरेको छैन, यद्यपि टिकटको मूल्यले इन्धनको उच्च लागतलाई अवशोषित गरेको छ,’ उनले भने।
महामारीले वायुसेवा उद्योगलाई तहसनहस पारेको र २०२० मा देशहरूले बन्दाबन्दी (लकडाउन) लागू गर्दा र सीमा बन्द गर्दा १ खर्ब ३७ अर्ब डलर गुमाएका थिए।
यस क्षेत्रले २०२१ मा थप ४२ अर्ब डलर गुमाएको थियो। गत वर्ष घाटा बेहोरेको यो क्षेत्रको प्रमुख बजार चीनले कोभिड प्रतिबन्ध जारी राख्ने अनुमान गरिएको थियो। तर, अन्ततः डिसेम्बरमा चीनले पनि कोभिडजन्य सबै प्रतिबन्ध हटाएको थियो।