काठमाडौं। संघीय राजधानीको चक्रपथमा विद्युतीय बस सञ्चालन (र्यापिड ट्रान्जिट) को सम्भाव्यता अध्ययन गर्न प्रस्ताव पेस गरेका कम्पनीको मूल्यांकन पूरा भएको छ।
लगानी बोर्डले बनाएको मूल्यांकन समितिले मूल्यांकनको काम सकेको छ। विद्युतीय बस सञ्चालनका सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डले अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) गर्ने छ।
बोलपत्रमा छनौट हुने कम्पनीले मात्र भाग लिन पाउनेछन्। तीमध्येबाट आर्थिक एवं प्राविधिकरूपमा सक्षम र सारभूतरूपमा प्रभावग्राही न्यूनतम दर अंकित बोलपत्रदाताले सम्भाव्यता अध्ययन गर्न पाउने छ।
बोर्डले आशयपत्र माग्दा ११ विदेशी कम्पनीले प्रस्ताव पेस गरेका थिए। तीमध्ये एउटा कम्पनीले प्रस्ताव पेस गरेन। १० कम्पनीमध्ये बढीमा ६ कम्पनीमात्र छनौट हुनेछन्। न्यूनतम ६० अंक पाउने कम्पनी बोलपत्रका लागि छनौट हुने बोर्डले जनाएको छ। न्यूनतम अंक नपाउने कम्पनीले बोलपत्रमा भाग लिन पाउने छैनन्।
बोर्डले आशयपत्र माग्दा चीन, भारत, बंगलादेश, पाकिस्तान र युरोपेली देशका कम्पनीले आवेदन दिएका थिए।
२०७९ माघ २२ मा आह्वान भएको आशयपत्रको म्याद चैत ९ सम्म थियो। आउँदो असोजभित्र कम्पनी छनौट गरेर ठेक्का सम्झौता हुने बोर्डले जनाएको छ।
बोर्डले विद्युतीय बस परियोजना अघि बढाए पनि भौतिक पूर्वाधार मन्त्रालय यसमा सकारात्मक नभएको बोर्ड स्रोतले बतायो।
मन्त्रालय सकारात्मक नहुँदा कतिपय काम अघि बढाउन समस्या पर्ने देखिएको छ। मन्त्रालयले मेट्रो र मनोरेल अघि बढाउन चाहेको बोर्ड स्रोतको भनाइ छ। चक्रपथको दोस्रो सडक विस्तारमा ‘सर्भिस लेन’ निर्माण भएकाले मन्त्रालय विद्युतीय बस सञ्चालनमा सकारात्मक नभएको बुझाइ बोर्डको छ।
अहिले चीनको अनुदानमा चक्रपथ सडकको विस्तार सुरु हुँदैछ। कोटेश्वरबाट कलंकीसम्मको विस्तार काम पूरा भइसकेको छ भने दोस्रो चरणअन्तर्गत कलंकीदेखि चाबहिलसम्मको सडक विस्तारको काम सुरु हुँदैछ।
यसअघि २०७९ कात्तिक २० मा पहिलोपटक लगानी बोर्डले चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि ठेक्का आह्वान गरेको थियो।
त्यसबेला १३ वटा कम्पनीले आवेदन दिएका थिए। तर, बोर्डले निकालेको टेन्डर प्रक्रिया नै गलत भएपछि सबै कम्पनीको आवेदन रद्द भएर माघ २२ मा नयाँ ठेक्का खुलेको थियो।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब रुपैयाँ लाग्ने अनुमान बोर्डको छ। यद्यपि, विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्र यकिन लागत आउने छ।
डिपिआर अध्ययन जिम्मेवारी पाउने कम्पनीले सम्झौताको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालनसम्बन्धी अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्ने बोर्डले जनाएको छ।
२७.३० किलोमिटर लामो चक्रपथको एउटा लेन विद्युतीय बसका लागिमात्र छुट्ट्याउने योजना छ। त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्ने छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७५ टर्मिनल र २७ स्टेसन रहने प्रारम्भिक अनुमान छ।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न ६ मिटर चौडाइको बसस्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछन्। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछन्।
सन् २०२९ सम्म चक्रपथमा दैनिक यात्रु आवागमन संख्या १७ लाखदेखि ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ। २०४९ सम्म पुग्दा उक्त संख्या बढेर दैनिक ४२ लाख ९ हजारले चक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्ने अनुमान बोर्डको छ।
सोही चाप आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको हो। राजधानीमा बढ्दो जनघनत्व र प्रदुषण लक्षित गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ। पछिल्लो समय सरकारले विद्युतीय गाडीमा जोड दिएको छ।