बैंकक। अन्तर्राष्ट्रिय तामाङ परिषद अब कार्यकारी महासचिव प्रणालीमा सञ्चालन हुने भएको छ। थाइल्यान्डमा सम्पन्न पाँचौं सम्मेलनमा पारित विधानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने भएको हो।
नयाँ विधानअनुसार सम्मेलन आयोजक संस्था थाइल्यान्डका तर्फबाट तामाङ (लामा) समाजको अध्यक्षको हैसियतले स्वतः चम्पाडोल्मो लामा पदेन अध्यक्ष भएकी छिन्।
महासचिवमा नेपालका टासी लामा सर्वसम्मत निर्वाचित भएका छन्। लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन्। पारित विधानअनुसार अब परिषदको महासचिव कार्यकारी अधिकारसहितको हुनेछन्। नेपाल तामाङ घेदुङका संघीय सहअध्यक्ष कुमार घिसिङले भने, ’परिषदको कामलाई नियमित र चुस्त बनाउन महासचिव प्रणालीमा परिषदलाई लैजाने सम्मेलनले नीति लिएका छौँ ।’
संसारभरिका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक–सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्धजस्ता महत्वपूर्ण विषयमा काम गर्नुपर्ने भएकाले ती विषयसँग सम्बन्धित विज्ञले नेतृत्व गर्ने गरी विषयगत समिति निर्माण गर्न संगठनात्मक नीति लिइएको छ। अब यो परिषद लिडर बेसमा मात्र नभई विज्ञसहितको संगठन बन्ने छ ।
‘सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ फरक–फरक विषयगत समिति बनाएको छ,’ नवनिर्वाचित महासचिव लामाले भने, ‘अब ती समिति विषय विज्ञले नेतृत्व गर्नेछन्। ६ महिनाभित्र विज्ञको भेला गरी ती समिति निर्माण गरिनेछन्।’
२१ वर्षअघि स्थापना भएको परिषदले अब पूर्णरूपले अन्तर्राष्ट्रिय संगठनको मान्यताअनुसार काम गर्न सक्ने स्थितिमा पुगेको महासचिव लामाले जानकारी दिए। सम्मेलनमा १७ सदस्यीय संस्थाका प्रतिनिधि सहभागी थिए।
उक्त परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्था सदस्य रहनेछन्। निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाबाट सिफारिस हुनुपर्ने छ । हाल यस परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्यान्ड स्थायी सदस्य छन्। राष्ट्रियमा अमेरिका, जापान, बेल्जीयम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया रहेको छ। परिषदमा सबै सदस्य संस्थाका अध्यक्ष स्वतः सदस्य रहनेछन्।