नेपालका धेरै होटल ब्यवसायीले आफूले अध्ययन गरेर भन्दा पनि अर्काको देखासिखीमा लगानी गरेको पाइन्छ । उनिहरुले बजार अध्ययन गरेको भए सायद यतिधेरै होटल खुल्ने थिएनन् होलान् । अध्ययनले अहिले नेपालमा कति पर्यटक आइरहेका छन् ? उनिहरुको माग के हो ? व्यवसायीक सम्भावना कस्तो छ ? अहिलेका होटलसँग कति क्षमता छ ? भन्ने बिषयमा बिस्तृत जानकारी लगानीकर्ताले पाउँथे । जसले गर्दा उनिहरुले लगानीलाई सहि रुपमा सदुपयोग गर्न सक्थे ।
अहिले नेपालमा आउने पर्यटकको सङ्ख्या भन्दा होटलको क्षमता बढी छ । यसैलाई हेर्दा पनि थाहा हुन्छ उनिहरुले अध्ययन नै नगरि होटल ब्यवसायमा लगानी गरिरहेका छन् । हानले यो वर्ष नेपालमा १५ लाख पर्यटक भित्रने अनुमान गरेको छ । गतवर्ष १२ लाख पर्यटक आएका थिए । तर, अहिले निर्माणाधीन होटल बाहेक सञ्चालनमा रहेका होटलमा मात्र पनि २० लाख पर्यटक राख्न सकिन्छ । निर्माणाधिन होटललाई जोड्ने हो भने २२ देखि २४ लाख पर्यटकलाई आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।
अहिले नेपालमा सञ्चालित होटलहरुले आफ्नो लागत अनुसार रुम बिक्री गर्न सकिरहेका छैनन् । रुम विक्री नभएपछि कसरी लागत उठ्छ ? उनीहरु आफ्नो होटलको जमिनको मूल्य बढेकामा नै सन्तुष्टि लिइरहेका छन् । खास, रमाउनुपर्ने रुम धमाधम विक्री भएकोमा हो । तर, यहाँ उल्टो भइरहेको छ । त्यसैले होटल ब्यवसायीहरु पनि होटल सञ्चालन गर्नुभन्दा त्यहाँको जग्गाको मूल्य बढाउने खेलमा लागिरहेका छन् ।
होटल बन्नु भन्दा पहिला र पछिको जमिनको मूल्यमा आकाशपातालको फरक छ । अहिले होटल चलाउनु भन्दा पनि होटलको घर जग्गा बेच्दा आउने फाइदालाई हेरेर धेरैले लगानी गरिरहेका छन् । नेपालमा दिनप्रतिदिन नयाँ नयाँ होटल थपिनेक्रमसँगै पूराना होटलको भविष्य सङ्कटमा परेको छ । माओवादीको सशत्रद्वन्द्व उत्कर्षमा पुगेको समयमा नेपालका गहना होटलहरु ब्लु स्टार, शेर्पा ,नारायणीलगायत बन्द भएका थिए । त्यस्तै अवस्था अहिले फेरी आएको छ ।
नयाँ पाँच तारे होटलले सस्तोमा सेवा दिन लागेपछि पुराना होटलमा ग्राहक जान छोडेका छन् । ४० डलरमा नयाँ होटलमा कोठा पाइन्छ भने किन ग्राहकहरु पुराना होटलमा जान्छन् त ? पुराना होटलमा कर्मचारीहरु ४०/४५ बर्ष पुराना भइसकेका छन् भने अधिकाशं २० बर्ष पूरा भइसकेका छन् । उनीहरुको हरेक बर्ष ग्रेट बढिरहेको हुन्छ । ती होटलले सामान्य कर्मचारीलाई पनि ४० हजार भन्दा माथि तलब दिनुपर्छ, साथमा सर्भिस चार्ज पनि जोड्नुपर्छ । त्यस्तो सेवा सुविधा दिन पुराना होटलले सक्दैनन् ।
एकातिर ग्राहक कम आउने अर्कोतिर कर्मचारीलाई चर्को तलब दिनु पर्ने भएपछि होटल बन्द गर्नुको विकल्प हुन्न । तर, नयाँ होटलले १३ हजार ५ सय मात्र दिए पुग्यो । उनीहरुलाई सर्भिस चार्ज मात्र दिए पुग्यो, ग्रेड त दिनु परेन् । सुरुवाती अवस्थामा होटललाई घाटा हुन्छ भन्ने पहिला नै थाहा हुन्छ, त्यसैले पनि उसले अरु भन्दा सस्तोमा कोठा दिन तयार हुन्छ । अहिलेको मुख्य समस्या भनेकै यहि हो ।
लगानीकर्ताले होटल बनाउनलाई बैङ्कबाट ६ सय करोड ऋण लिएका हुन्छन् । ती मध्ये २ सय करोड होटलमा र बाँकी ४ सय करोड घरजग्गा क्षेत्रमा लगानी गर्छन् । उनीहरुले होटलमा घाटा भए पनि घरजग्गा क्षेत्रबाट नाफा लिइरहेका हुन्छन् ।
शाह होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष हुन् ।