काठमाडौं। आर्थिक ऐनले भाडामा प्रतिनिधि राख्न नपाइने नीतिगत व्यवस्था गरेपछि भन्सार एजेन्टको रुवाबासी सुरु भएको छ।
यसअघि एउटा भन्सार एजेन्टले दुई जनासम्म प्रतिनिधि राखेर उनीहरूलाई आफ्नो लाइसेन्स बेचेको थियो। तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार एजेन्ट स्वयं उपस्थित भएर मालसामान छुटाउनुपर्ने नीतिगत व्यवस्था गरेपछि उनीहरूकाे रोइलो सुरु भएको हो।
भन्सार एजेन्टको लाइसेन्स लिने र अर्कालाई बिक्री गर्ने प्रथाको आर्थिक ऐनले अन्त्य गरेको हो। ऐनले अब स्वयं लाइसेन्स होल्डर भन्सारमा उपस्थित हुनुपर्ने छ।
आर्थिक ऐन २०८० ले निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी तथा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले भन्सार विभागबाट भन्सार एजेन्टको लाइसेन्स लिएकै हुनुपर्ने नीतिगत व्यवस्था गरेपछि प्रतिनिधि राख्दै आएकाहरू समस्यामा परेका हुन्।
भन्सार विभागबाट लाइसेन्स लिएकालाई मात्रै अब उप्रान्त भन्सार कार्यालयले चिन्ने छन्। तर, भन्सार एजेन्टले राखेका प्रतिनिधिमार्फत कुनै पनि सामान छुटाउने वा निकासीको कार्य पूरा हुँदैन।
‘सरकारसँग भन्सार एजेन्टको रूपमा काम गर्छु भनेर लाइसेन्स लिने, पछि भएर अर्को व्यक्तिलाई बेचेर मासिकरूपमा असुली चलाउन कहाँ पाइन्छ?,’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘सरकारसँग म आफैं भन्सार एजेन्टको रूपमा काम गर्छु भनेर लाइसेन्स लिएको हो। र, सरकारले पनि सम्बन्धित व्यक्तिलाई भन्सार एजेन्टको रूपमा काम अनुमति दिएको हो। तर, एजेन्टहरूले दुईजना प्रतिनिधि राखेर काम गर्न थाले।’
मन्त्रालय स्रोतका अनुसार लाइसेन्स लिएकाहरूलाई भन्सारमा गएर काम गर्न मन छैन भने नयाँ अवसर पाउँछ। लाइसेन्स किन होल्ड गरिरहने।
‘अहिले ९० प्रतिशत भन्सार एजेन्टलाई भन्सार कार्यालयमा जान लाज लाग्छ। उनीहरू महँगा गाडी चढेर हिँड्छन्, सरकारले तोकेका भन्सार एजेन्ट अहिले कुनै पनि भन्सार कार्यालयमा भेटिँदैनन्,’ अर्थका ती अधिकारीले भने, ‘एजेन्टको रूपमा काम गर्ने हो भने स्वयं उपस्थित हुने, नसक्ने हो भने अर्कोले लाइसेन्स लिन्छ। किन होल्ड गरेर राख्ने?’
यसअघि मालवस्तुको भन्सार बिन्दुमा निकासी अथवा पैठारीको प्रज्ञापनपत्रमा भन्सार विभागबाट इजाजत लिएका भन्सार एजेन्ट एवं एजेन्टले नियुक्त गरेका दुईजना प्रतिनिधि र मालसामान निकासी पैठारी गर्ने व्यवसायी स्वयंले हस्ताक्षर गरी काम गराउँदै आएका थिए।
सरकारले आर्थिक ऐन संशोधन गरेर अब भन्सार एजेन्ट स्वयं उपस्थित हुनुपर्ने बनाएको हो। अहिले भन्सार एजेन्टले राखेका प्रतिनिधिले भन्सारमा सहजीकरण गरिरहेका छन्।
भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजत पत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्थालाई व्यवस्था थियो।
संशोधन गरी सो को सट्टा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्था गरेको छ। देशभर झन्डै ७ सय हाराहारी भन्सार एजेन्टले लाइसेन्स लिएका छन्।