काठमाडौं। सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ ।
यसअघि करका विषयमा अन्योलता बढ्दा बजार ३ दिनमै बेस्सरी प्रभावित भएको थियो । आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हालख कायम ५% र ७.५% पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारे । त्यतिमात्र होइन, यसमा अर्थ मन्त्रालयले लिखित विज्ञप्ति नै जारी गरेको छ ।
यस्तै, अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच हस्तक्षरसमेत भएको छ। यही खबर बाहिर आएपछि सेयर बजारमा रौनकता छाएको हो । अब सरकारले विद्यमान पुँजीगत लाभकरका दरलाई नै अन्तिम कर मान्नेछ । सरकारसँग सहमति हुनुअघि लगानीकर्ताले ५० वटै ब्रोकर कार्यालय बन्द गराएका थिए । सेयर कारोबार पनि ठप्पप्रायः बनेको थियो ।
करका विवाद समाधान भएकाले अब बजारले गति लिने विश्लेषण हुन थालेको छ । बजार विस्तारका लागि अन्य पक्षहरुले सपोर्ट गर्न थालेको छ । बैंक ब्याजदर घट्न थालेको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुन थालिसकेको छ । सीडी रेसियो ८४ कै लाइनमा आएको छ । यी पक्षहरुले आगामी दिन क्रमशः सकारात्मक बन्दै जान सक्ने अनुमान गर्न सकिन्छ ।
हाम्रो बजार निश्चित अवधिको बुल र बियर चक्रमा हिँड्ने गरेको छ । यसलाई आधार मान्ने हो भने पनि अब विस्तारै बियरिस चक्र समाप्त हुनुपर्ने जानकारहरु बताउँछन् । किन भने बजार झन्डै २२ महिनाको वियरिस चक्र पूरा गर्न लागेको छ ।
तथापि, बजार लगातार बढ्ने वा घट्नेमात्र गर्दैन । तलमाथि हुँदै अघि बढ्ने प्रवृत्ति हुन्छ । यसर्थ, आम लगानीकर्ताले सोही अनुसार आफ्ना रणनीतिहरु तय गर्नुपर्ने जानकारहरुको भनाइ रहने गरेको छ ।
यसका लागि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता अब्बल रहेका कम्पनीहरुमा सकेसम्म लामो अवधि होल्ड गर्ने हिसाबले सेयर खरिद गर्नुपर्ने उनीहरुको भनाई छ ।
यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर बढेका छन् ।